नेफ्स्कूनको साधारणसभा एक वर्षअघि गर्न दवाव दिने को ?

1558

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले संचालक समितिको कार्यकाल एक वर्ष बाँकी हुदै निर्वाचन सहितको साधारणसभा गर्न लागेको छ । नेफ्स्कूनको पुरानो विनियम अनुसार संचालक र लेखा समितिको कार्यकाल तीन वर्षको हो । गत वर्ष २७ औं साधारणसभाले विनियम संसोधन गरी सहकारी ऐन २०७४ मै तोकेअनुसार संचालक समितिको कार्यकाल ४ वर्ष बनाएको थियो । संसोधित विनियम अनुसार नेफ्स्कूनको कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । तर, कात्तिक १६ गते वसेको संघको बैठकले पुस ४ र ५ गतेका लागि निर्वाचन सहितको साधारणभा बोलाएपछि यसबारे सहकारी क्षेत्रमा बहस चलिरहेको छ ।

यसै वर्ष निर्वाचन गर्न चाहाने पक्षले वर्तमान कार्यसमिति तीन वर्षकै लागि निर्वाचित भएको दावी गरिरहेको छ भने अर्को पक्षधर भने साधारणसभावाट पास भएको विनियम विपरित निर्वाचन गर्नु गलत हुने बताइरहेको छ । यद्यपि नेफ्स्कूनको चुनाव यसै वर्ष गर्नका लागि उच्च राजनीतिक तहबाटै दवाद आएको चर्चा पनि छ ।

अध्यक्ष डिबी बस्नेत विनियम अनुसार अर्को वर्ष मात्र निर्वाचन गर्ने पक्षमा थिए । तर, बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल भने जसरी पनि यसैवर्ष चुनाव गर्नुपर्ने लविङमा लागेका थिए ।

यसैबिचमा चुनाव गर्नका लागि अध्यक्ष बस्नेतलाई पार्टीका उच्च नेताबाट दवाव दिइएको समाचार स्रोतले बताएको छ । ‘नेकपाको सहकारी विभाग हुदै पार्टी अध्यक्ष प्रचण्डबाटै दवाव आएको हुनुपर्छ’- स्रोतले भन्यो । बस्नेतमाथी दवाव सिर्जना गराउन पौड्यालले माओवादी समर्थीत सहकारीकर्मीलाई आफ्नो पक्षमा पारेको समेत बताइन्छ ।

संघको बैठकमा अल्पमतमा पर्ने भएपछि अध्यक्ष बस्नेत निर्वाचन सहितको साधारणसभा गर्न सहमत भएको स्रोतले जानकारी दिएको छ ।

एक कार्यकालका लागि मात्र भनेर अध्यक्ष भएका बस्नेत अहिले पुन: अर्को कार्यकाल आफुले पाउनुपर्छ भन्दै लविङमा लागेका छन् ।