काठमाडौँ । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा काम गर्ने गरी क्यानडामा रहेका नेपालीको पहलमा जनसम्पर्क समिति क्यानडा गठन गरिएको छ । बुद्धिप्रकाश वलीको अध्यक्षतामा गठन गरिएको समितिमा १९ सदस्यीय रहेको छ ।
समितिका वरिष्ठ उपसभापतिमा भाष्करकुमार रेग्मी, उपसभापतिमा सुरेन्द्र खड्का र देवेन्द्र सुवेदी, महामन्त्रीमा बाबुराम लामिछाने, सहमहामन्त्रीमा राजु थापा, कोषाध्यक्षमा अनिल महत र प्रवक्तामा केशवप्रसाद सापकोटा चुनिएको जनसम्पर्क समिति क्यानडाद्वारा शुक्रबार प्रेसित विज्ञप्तिमा जनाइएको छ ।
नेपाली काँगे्रसको सिद्धान्त, आदर्श एवम् मूल्यमान्यतालाई आत्मसात् गर्न क्यानडामा बसोबास गर्ने गैरआवासीय नेपालीलाई सङ्गठित गर्न यस संस्थाको स्थापना गरिएको हो । क्यानडामा रहेका विभिन्न नेपाली समुदायका बीचमा भेला, अन्तरक्रिया र सामूहिक छलफल गरी निर्माण गरिएको यो समितिले नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट आबद्धता प्राप्त गरी क्यानेडियन फेडेरल कानुनअन्तर्गत दर्ता गरी काम गरिरहेको समितिका महामन्त्री लामिछानेले जानकारी दिए ।
यसका अतिरिक्त विधान निर्माण र कार्यान्वयन, विभिन्न विद्युतीय माध्यमबाट गतिविधि सम्प्रेषण र संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस केन्द्रीय कार्यालयलाई आर्थिक सहयोग, स्थानीयरुपमा भेला तथा अन्तरक्रिया सम्पन्न गरिएको समितिका प्रवक्ता सापकोटाले बताए । सो समितिको सल्लाहकारमा डा गोविन्दसिंह रावत, प्रकाश ज्ञवाली, रामप्रसाद पौडेल र केदार बस्नेत चयन भएका छन् ।
प्रतिक्रिया