पहिलो पटकसुचीकृत ८८ कम्पनीलाई स्पष्टीकरण माग, ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्ने

225

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका ८८ वटा कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ । त्यसमध्ये युनिलिभर, कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई र सोल्टी होटल बहुराष्ट्रिय कम्पनी हुन् ।

पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ । विवरण नबुझाएपछि जरिवाना किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो । ढिला विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ तथा वित्तिय विवरण नबुझाएका १८ कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो । बोर्डले स्पष्टीकरणको जवाफ पेश गर्न १५ दिनको समय अवधि दिएको थियो ।

विवरण पेश नगरेको दुई बैंक, दुई फाइनान्स, १३ वटा माइक्रोफाइनान्स, एकवटा ट्रेडिङ र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग एक लाख रुपैयाँ किन जरिवाना नगर्ने भनी स्पष्टीकरण सोधिएको हो ।
बोर्डका अध्यक्ष रमेश हमालले समयमा वित्तीय विवरण नबुझाएको आधारमा पहिलो पटक स्पष्टीकरण सोधिएको जानकारी दिए। बोर्डका अनुसार उनीहरुले स्पष्टीकरणको जवाफ पेश गरेपछि कानुन अनुसारको कारबाही हुनेछ ।

हेर्नुहाेस् कुन कुन कम्पनी परे स्पष्टीकरणमा