काठमाडौ । सहकारीको व्याजदर बढाउनका लागि सहकारी सञ्चालकहरुले राज्यलाई दवाव दिइरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर नवढ्ने बताएकी छिन् ।
शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११ औ बार्षिक साधारणसभामा बोल्दै सहकारी मन्त्री श्रेष्ठले सहकारीमा लागु हुदै आएको सन्दर्भ व्याजदर कुनैपनि हालतमा नबढ्ने बरु घट्न सक्ने बताएकी हुन् ।
उनले सहकारी संस्थाहरुको व्याजदर बढ्दा ह्वात्तै बढ्ने तर घट्दा कम घट्ने गरेको सुनाउदै सहकारी सिद्धान्त बमोजिम पनि व्याजदर बढ्न नहुने उनको तर्क थियो । ‘सहकारी कसका लागि चाहिएको हो, तिनिहरुको मर्म बुझेर व्याजदर तोक्नु पर्छ ,हचुवाको भरमा व्याजदर तोकिनु राम्रो होइन ।‘उनले भनिन् ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ बैंकिङ क्षेत्रमा तरलता अभाव भएको र त्यसको असर सहकारी क्षेत्रमा पनि परेको भन्दै व्याजदर बढाउनुको विकल्प नरहेको धारणा राखेका थिए ।
उनले समग्र बैकिङ क्षेत्रमा तरलता अभाव भएको र सोको असर समग्र सहकारी क्षेत्रले भोग्नुपरेको भन्दै त्यसको निराकरणका लागि सन्दर्भ व्याजदर कमिटीको बैठक छिट्ै बस्नुपर्ने र व्याजदर बढाएर तोक्नुपर्ने सुझाव दिएका थिए ।
सिजेएनले शुक्रबार नै काजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तुलसी सुवेदी, सचिव अर्जुन खतिवडा, सहसचिव भेषराज वेलवासे, कोषाध्यक्षमा प्रयास श्रेष्ठ र सदस्यहरुमा सन्तोष रोकाय र सुधा देवकोटा रहेका छन् ।
प्रतिक्रिया