काठमाडौं । शिवशिखर र तुलसी बहुउद्देश्यीय सहकारी संस्थामार्फत सर्वसाधारणको अबौं रकम ठगीको आरोप लागेका केदारनाथ शर्माले सहकारीको बचत ४० ओटा कम्पनीमा दुरुपयोग गरेको भेटिएको छ । केन्द्रीय प्रहरी अनुसन्धान व्यूरो (सीआइबी) र सम्पति शुद्धिकरण विभागले गरेको अनुसन्धानमा उनले श्रीमती गीता शर्माका साथै सहकारीका कर्मचारी नाममा समेत कम्पनी खोल्नुका साथै घरजग्गा र गाडीमा समेत सहकारीको बचत दुरुपयोग गरेको पाइएको हो ।
सहकारी ठगी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका शर्मालगायतले सहकारीको बचत हिनामिना गरी सम्पति शुद्धिकरण गरेको भन्दै करिब ३५ अर्ब रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । भक्तपुर जिल्ला अदालतमा दायर भएको सम्पत्ति शुद्धीकरण मुद्दामा शर्मासहित शर्मा सहित ९ जना व्यक्ति र २२ ओटा कम्पनीलाई प्रतिवादी कायम गरिएको छ ।
अदालतमा दायर अभियोग पत्रमा शर्माका साथै उनकी श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक शर्मा, शिखर अर्गनाइजेसनका मेनेजर पुस्कर मल्ल, शिव शिखर सहकारी भक्तपुरका अध्यक्ष सुशील बानियाँ, सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेजबहादुर तामाङ, व्यवस्थापक लीलानाथ गौतम, कर्मचारीहरु मन्दीप खवास, सबिना न्यौपाने र ऋण अधिकृत मुकुन्द कपालीले सम्पत्ति शुद्धीकरण गरेको आरोप छ ।
शर्माले आफु अध्यक्ष हुँदा आव २०७८÷०७९ मा सहकारीबाट विभिन्न १० ओटा कम्पनीहरुमा मापदण्ड विपरित ५ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । यस्तै सहकारीको एक अर्ब ७ करोड रुपैयाँ शर्माको खातामा भेटिएको छ । उक्त रकम शर्माले विभिन्न ४० ओटा कम्पनीमा एक अर्ब ३० करोडको शेयर पुँजी, संचालक सापटी वापत एक अर्ब ४० करोड, अग्रिम शेयर वापत ८९ करोड ५० लाख गरी कुल तीन अर्ब ६० करोड रुपैयाँ व्यक्तिगत लाभका लागि प्रयोग गरी सम्पति शुद्धिकरण गरेको अभियोग छ ।
सरकारी वकिलको कार्यालयले सहकारीको पैसा लगानी गरिएका कम्पनीहरूलाई पनि प्रतिवादी बनाएको छ, जसमा शिव शिखर एग्रो, शिखरदीप फुड इन्डष्ट्रिज, शिखरदीप एग्रो, गोरखा टी एन्ड कफी इन्डष्ट्रिज, शिखर मेसिनरी एण्ड अटो मोबाइल्स, नटराज एग्रो, गार्डेन मार्ट, तुलसी फुड इन्डष्ट्रिज, उपकार गार्मेन्ट र हिमालयन लायन कन्सट्रक्सन एण्ड मल्टी सोलुसन प्रालि छन् । यस्तै, तुलसी मोटर पम्प इन्डष्ट्रि, तुलसी कृषि अनुसन्धान, गोरखा वेभरेज, उपकार मिडिया ग्रुप, शिखर स्पाइस एड फ्रुट इन्डष्ट्रिज र शिखर अर्गनाईजेसन लिमिटेडविरुद्ध मुद्दा दायर गरिएको छ । यी कम्पनीमा केदारनाथ शर्मा समेतको लगानी रहेको छ ।
यसैगरी, होटेल पोप लाइफ, शिवशिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एन्ड आयल इन्डष्ट्रिज, टेक्नो डोन, डिजिटल शिखर र त्रिदेवी फुड इन्डष्ट्रिजविरुद्ध मुद्दा दायर गरिएको छ । यी कम्पनीहरूमा गीता शर्मा समेतको लगानी छ ।
सरकारी वकिलसँगको वयाँनका क्रममा शर्माले सहकारीको सम्पति हिनामिना नगरेको दावी गरेका छन् । सहकारीको रकम विभिन्न कृषि उद्योगमा लगानी गरेको र एकैपटक बचतकर्ता रकम फिर्ता माग्न आउँदा तरलताको अभाव भई दिन नसकिएको बताएका छन् ।
सहकारी बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले पनि गत साता शर्मा दम्पतीसँग छुट्टाछुट्टै सोधपुछ गरेको थियो । सोधपुछका क्रममा पनि उनीहरुले सहकारीको पैसा विभिन्न कम्पनीका लगानी तथा घरजग्गामा गरेको स्वीकार गरेका थिए । आर्थिक मन्दीका कारण सहकारीमा तरलता नहुँदा बचत फिर्ता गर्न नसकिएको उनीहरुको भनाइ थियो ।
सहकारीका बचतकर्ताको उजुरीका आधारमा विभिन्न १३ ओटा जिल्लामा सहकारीको ठगीमा शर्मा विरुद्ध मुद्दा चलिरहेको छ । यता सरकारले शिवशिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको जिम्मा लगाएको छ ।
प्रतिक्रिया