वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अठोले बनाएको उद्यमी, छेकेन उमेरले

शर्मिला ठकुरी
२०८१ मंसिर १२, बुधबार

चितवन । माडी– ८ की पिपला भण्डारी (५९) दिनभर माछा स्याहार्छिन् । ११ विगाह जग्गामा फैलिएका माछा पोखरी घुम्दै चारो खुवाउन उनलाई हिंडेर भ्याइँदैन । स्कुटर चढ्नु पर्छ । माछा पोखरीको रेखदेख र स्याहारमा उनलाई पति कुलप्रसाद भण्डारीले सघाउँछन् । करिव १५ बर्ष अगाडि भण्डारी दम्पत्तीका छोराहरुले माछापालन व्यवसाय सुरु गरेका थिए । तर, बजारको अभाव, बिचौलियाको ज्यादती, उधारोमा बिक्रीजस्ता कारणले घाटा हुन थालेपछि उनीहरुले यो व्यवसाय छाडेर अर्कै व्यवसाय रोजे ।

जीवनभर कृषिकर्ममा रमाएकी पिपलालाई दुख गरी बनाएको माछा पोखरी पुर्ने कुरा चित्त बुझेन । खासमा त उनी यसमै रमाएकी थिइन् । उनमा अब आँफै माछापालन गर्ने जोश पलायो । “पोखरी पुर्न भन्दा आफैंले व्यवसाय गर्ने शुर कसें,” भन्डारी भन्छिन्, “छोराहरुलाई ल्याऊ मेरो लालपूर्जा म गर्छु व्यवसाय भनें ।”

उनी जग्गाको लालपुर्जा लिएर सिधै अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा गइन् । “पहिले त उनीहरु ऋण दिन हिचकिचाएका थिए, छोराहरुले नसकेको व्यवसाय भनेर,” पिपला भन्छिन्, “मैले आफ्नो योजना सुनाएँ, केही जिद्दि पनि देखाएँ अनी ५० लाख रुपैयाँको ग्रामिण उद्यम कर्जा स्वीकृत भयो ।” कर्जा लिएको रकमले उनले थप एउटा पोखरी बनाइन्, पुराना पोखरीको मर्मत गराइन् र माछा पालन शुरु गरिन् ।

पहिले सिजनको समयमा माछा पर्याप्त हुँदा नबिक्ने र बेसिजनमा हाहाकार भएर भारतबाट आयात गर्नुपथ्र्यो । त्यो कुरा बुझेकी भण्डारीका पोखरीमा अहिले सबै सिजनमा हुने माछा छन् । उनी भन्छिन्, “पोखरीमा सात प्रजातिका माछा छन् । ११ विगाह जग्गामध्ये एक विगाह आफ्नै हो बाँकी सबै भाडामा लिएका हौं ।”  प्रति महिना ३३० किलो माछा बिक्री गर्ने भण्डारीले तीन जनालाई रोजगारी पनि दिएकी छन् । बजारको समस्या छैन । उनी भन्छिन्, “व्यापारीहरु पोखरीमै आइपुग्छन् । यहाँको माछा धेरैजसो चितवन वरपरमै र केही काठमाडौं पनि पुग्छ ।”

वार्षिक ५० लाख रुपैयाँको माछा बिक्री गर्दा २० लाख रुपैयाँ खुद नाफा भइरहेको उनले सुनाइन् । भन्छिन्, “उधारोको पनि समस्या छैन, बजारमा मेरो उठाउन बाँकी ८० हजार चानचुन मात्रै छ ।” माछा व्यवसाय फस्टाउँदै गएपपछि उनका श्रीमान् कुलप्रसाद भण्डारी यससँगै जोडिएको अर्को व्यवसायको तयारीमा जुटेका छन् । उनले पोखरीको बीचमा रिसोर्ट बनाएर ग्राहकलाई आफैं माछा मारेर खान सक्ने व्यवस्था मिलाइने बताए । उनले भने, “चारैतिर पोखरीको माझ घाम ताप्दै माछा मारेर खान पाइने बनाउँछु ।” माछा पालनमा भण्डारी दम्पत्तीले अहिलेसम्म करिव डेढ करोड लगानी गरेका छन् ।

कास्कीको उत्तरी भेगमा पर्ने माछापुच्छ«े गाउँपालिका– ४, लाहाचोककी ५१ बर्षिय टिकादेवी नेपालीले दुध बेचेको आम्दानीबाट तीन सन्तान हुर्काइन् । अत्यधिक मदिरा सेवन गर्ने उनका पति २०५९ सालमा विते । त्यसपछि उनले थाहा पाइन् आफूसँग भएको अलिकती जग्गा पनि श्रीमान्ले धितो राखेर ऋण खाएका रहेछन् । बालबच्चा हुर्काउने, पढाउने जिम्मेवारी उनकै काँधमा थियो । तर के गरी आय आर्जन गर्ने, उनीसँग केही थिएन ।

२०७२ सालमा उनले मजदुरी मेलापातबाट जोगाएको रकमले एउटा भैंसी किनिन् । तर, लहाचोकको डेरीमा दुध बेच्न जादा दलितले छोएको दुध नचल्ने भन्दै फर्काइयो । तर, उनले हरेश खाइनन् । “मलाई सिधै तिमीले ल्याएको दुध खाँदैनौं त कसैले पनि भनेनन् । तर, टिकादेवीले दुध ल्याउने हो भने गाउँका कसैले पनि डेरीबाट दुध नकिन्ने भनेर डेरीवालालाई धम्काएका रहेछन् ।”

उनीसँग दुध बेचेर आय आर्जन गर्नुबाहेक अर्को विकल्प थिएन । किनभने भएको जेथा सबै जोरजाम गरेर उनले भैंसी किनेकी थिइन् । त्यसपछि उनले गाउँमै भैंसी पालन गरिरहेका इमानसिंह गुरुङलाई दुध किनिदिन आग्रह गरिन् । “गुरुङ दाईले हुन्छ भनेपछि दैनिक पाँच लिटर दुध उहाँलाई नै दिन थालें । पछि त साना किसान कृषि सहकारी लाहाचोककी अध्यक्ष कमलाकुमारीले मेरै घरको दुधबाट खिर बनाएर सबैलाई खान बोलाउनु भयो । यो सह–भोजपछि अलिक सजिलो भयो ।”

त्यसपछि टीकादेवीले उक्त सहकारीबाट तीन लाख रुपैयाँ कर्जा लिएर तीनवटा भैंसी पालिन् । यो व्यवसायले उनको जीवन सहज बनाएको छ । छोराछोरी राम्रो स्कुलमा पढ्न पाएका छन्  अहिले उनले एसियाली विकास बैंकको ग्रामीण उद्यम वित्तीय परियोजना अन्तर्गतको ग्रामीण उद्यम कर्जा कृषि सहकारी संस्था मार्फत २३ लाख रुपैयाँ लिएर व्यवसाय बढाएकी छन् । भैंसी पालनसँगै, कुखुरा पालन र तरकारी खेतीमा पनि उनको व्यवसाय विस्तार भएको छ । हाल वार्षिक २५ लाख रुपैयाँसम्मको कारोबार गर्ने टीकादेवीले जेठी बुहारी, कान्छो छोरा र अर्का एक जनालाई रोजगारी दिएकी छन् ।

पढाईका लागि जापान गएका जेठा छोरा फर्केपछि यही व्यवसायमा व्यस्त हुने उनी बताउँछिन् । “छोरालाई गाउँमा खेती किसानी गर्नुपर्छ भनेकी छु, उसले पनि हुन्छ भनेको छ,” टीकादेवीले सुनाइन् । टिकादेवीले अहिले सासु र आफ्नो श्रीमान्ले बन्दगी राखेको जग्गा फिर्ता लिइसकेकी छिन् भने थप एक रोपनी जग्गा पनि जोडेकी छिन् ।
उनी भन्छिन्, “मैले हिम्मत गरें, सहकारीबाट कर्जा पनि पाएँ । आर्थिक अवस्था राम्रो हुँदै गएपछि जातको हेलाहोंचो पनि कम भएको छ ।”

एसियाली विकास बैंक (एडिवी) का राष्ट्रिय निर्देशक आर्नो कोश्वाले यस परियोजनाले नेपालको ग्रामिण अर्थतन्त्रको संरचना परिवर्तनका लागि महत्वपुर्ण भुमिका खेल्ने दावी गरे ।
उनले भने, ‘यस परियोजनाले ग्रामीण अर्थतन्त्रको संरचना परिवर्तन गर्नमा सहयोग गर्नुका साथै कृषिजन्य बस्तुहरुको मुल्य श्रृङखलाको संरचनालाई पनि परिवर्तन गर्न योगदान गर्छ ।’
त्यस्तै उनले यो परियोजना ग्रामिण भेगका महिलाहरुको लागि अवसर पनि भएकोले यसबाट जतिसक्दो लाभ लिन आग्रह गरे ।

साना किसान विकास बैंकका सहायक प्रमूख कार्यकारी अधिकृत डा.नवराज सिंखडा यो परियोजनाले कर्जाको लागि चाहिने कागजात जुटाउने, कसरी आवेदन दिने जस्ता विषयमा पनि किसानहरुलाई सहयोग गरिरहेको बताउँछन् ।

ग्रामीण उद्यम वित्तिय परियोजना एसियाली विकास बैंकले सन् २०१९ देखि साना किसान विकास बैंक मार्फत सञ्चालन गरिरहेको छ । यो परियोजना अन्तर्गत हालसम्म ३८ वटा संयुक्त लगानीका व्यवसाय र १ हजार ९५० व्यक्तिगत लगानी व्यवसायमा कर्जा प्रवाह भएको छ । ९ प्रतिशत ब्याजदरमा उक्त कर्जा साना किसान कृषि सहकारी संस्था मार्फत पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शर्मिला ठकुरी

ट्रेन्डिङ