काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धमा सुरेश थापा चयन भएका छन् । हाल नायव महाप्रवन्धक रहेका उनी खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धमा चयन भएका हुन् ।
छनोट उपसमितिले मंगलबार महाप्रबन्धकका लागि आवेदन दिएकाहरुको प्रस्तुतीकरण र अन्तरवार्ताबाट मूल्यांकन गरेको थियो । उपसमितिले महाप्रवन्धकमा नियुक्तीका लागि सिफारीस गरेपछि मंगलबार नै बेलुका बसेका संचालक समितिको बैठकले थापालाई नियुक्ती दिएको हो ।
महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले पदबाट राजिनामा गरेपछि उनी पुस ३० गतेबाट विदा हुदैछिन् । माघ १ देखि थापाले कार्यकाल सुरु गर्नेछन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघि सुब्बालाई महाप्रवन्धक नियुक्त गर्दा कार्यअवधि लागू नहुने गरी महासंघको कर्मचारी विनियमावली नै परिवर्तन गरिएको थियो ।
कार्यक्रम अधिकृतका रुपमा महासंघ प्रवेश गरेका थापा तीन वर्षअघि नायव महाप्रवन्धकमा बढुवा भएका थिए ।
महासंघले मंसिर ८ गते एक महिनाको समय सीमा तोक्दै महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । तर, तोकिएको समय सीमासम्म पर्याप्त उम्मेदवारी नपरेपछि महासंघले पुस ८ गते पुनः दरखास्त आह्वान गर्दै पुस १२ गतेसम्मका समय दिएको थियो । तोकेको समयमा थापा सहित १४ जनाको आवेदन परेको थियो । त्यसमध्ये ८ जना उम्मेदवारहरु मात्र प्रतिस्पर्धामा सहभागि रहेको महासंघ स्रोतले जनाएको छ ।
महाप्रवन्धक छनोट गर्न महासंघको वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको संयोजकत्वमा छनोट उपसमिति गठन गरेको थियो । जसमा सदस्यहरु खेमबहादुर पाठक र टेकप्रसाद चौलागाईं थिए । यसैगरी मंगलबार मूल्यांकनका लागि विज्ञका रुपमा कमल खरेल र सहकारी मन्त्रालयका उपसचिव टोलराज उपाध्यायलाई आमन्त्रित गरिएको थियो ।
महाप्रबन्धकको मासिक एक लाख १० हजार रुपैयाँ हाराहारी तलब भत्ता सुविधा रहेको छ ।
प्रतिक्रिया