काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दर्जन शर्तहरु तोक्दै बाणिज्य तथा विकास बैंकहरुलाई आफ्नो प्राथमिक पुँजी बराबर अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै गत जेठमा बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने घोषणा गरेको थियो । बुधबार निर्देशन जारी गर्दै प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैंकहरुलाई प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर/अन्य ऋण उपकरण जारी गर्न दिने व्यवस्था गरेको हो ।
निर्देशनमा बैंकहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न पाउने सुविधा दिइएको छ । संस्थागत लगानीकर्ताले मात्र खरिद गर्न पाउने यस्तो शेयरमा लाभांश चालु आर्थिक वर्षको नाफाबाट मात्र वितरण गर्नुपर्ने र संचित नाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न नपाइने शर्त तोकिएको छ ।
अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेका संस्थाको तोकिएको ‘ट्रिगर बिन्दु’ पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने र यसका लागि केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । हालसम्म एनआईसी एशिया र नबिल बैंकले भने ५/५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न निवेदन दिएका छन् ।
प्रतिक्रिया