वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक मन्दीको असर बीमा व्यवसायमा, बीमाको पहुँच घट्यो

अर्थटुडे
२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा बीमाको पहुँच घटेको छ । देशको समग्र आर्थिक गतिविधिमा कमीआएसँगै बीमा गर्ने सर्वसाधारणको संख्या पनि घटेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार २०८१ असारसम्ममा म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमा सहित बीमा गर्ने सर्वसाधारणको संख्या ४३ दशमलव २७ प्रतिशतमा सिमीत भएको छ । २०८० असारमा बीमा गर्ने जनसंख्याको हिस्सा ४४ दशमलव ३८ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमालेख बिक्री घट्दा बीमाको पहुँच थोरै घटेको प्राधिकरणका प्रवक्ता सुुशीलदेव सुवेदीले जानकारी दिए । तर, सर्वसाधारणले बढी मूल्यको बीमा गरेकाले कम्पनीहरुको प्रिमियम संकलनमा भने बृद्धि भएको उनले बताए ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० मा एक करोड ४१ लाख ३७ हजार वटा जीवन बीमालेख जारी गरी एक खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा आव २०८०/८१ मा १ करोड ३८ लाख ८१ हजार वटा बीमालेख बिक्रीबाट एक खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क उठाएका छन । कम्पनीहरुको बीमालेखको संख्या १.८१ प्रतिशतले घटेपनि बीमाशुल्क संकलन भने ९.८२ प्रतिशतले बृद्धि भएको छ ।

यसैगरी निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा भने ३.११ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७९ /८० मा निर्जीवन वीमा कम्पनीहरुले २७ लाख ९२ हजार ओटा बीमालेख बिक्रीबाट ४० अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा आव २०८०/८१ भने २९ लाख ७७ हजार ओटा वीमालेख बिक्रीबाट ४१ अर्ब ४६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ