वि.सं. २०८१ माघ २६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संचिती उच्च विन्दुमा पुगेपछि विदेशी मुद्रा सटहीमा लचिलो

अर्थटुडे
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । शोधनान्तर बचत बढ्दै विदेशी मुद्राको संचिती उच्च अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा थप लचिलो बनेको छ । बुधबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै केन्द्रीय बैंकले आयातमा खुकुलो व्यवस्था गर्नुका साथै विदेश उपचार गर्न तथा शिक्षण संस्थाहरुले शुल्क भुक्तानी गर्न पाउने सटहीको सीमा बृद्धि गरेको हो ।

नयाँ प्रावधान अनुसार हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेमा र बिक्रेताले उधारोमा दिएमा अधिकतम एक लाख डलर सम्मका सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो आयातमा सीमा अमेरिकी डलर १० हजारसम्म मात्र थियो ।

यसैगरी नेपाली नागरिकले बाह्य मुलुकमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरिद गर्नका लागि अब १५ हजार डलरसम्म सहटी सुविधा पाउने भएका छन् । यसअघिसम्म १० हजार डलरसम्म सहटी सुविधा पाउदै आएकोमा राष्ट्र बैंकले निर्देशनमार्फत बृद्धि गरेको हो । नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा उपलब्ध हुदै आएको बढाएर २५ हजार डलर बनाएको छ ।

राष्ट्र बैंक आयातकर्ताहरुको शर्तमा पनि लचिलो बनेको छ । अब विदेशी मुद्रा सटही सुविधा लिएको ६० दिन भित्र ‘ओरिजिनल डकुमेन्ट’ पेस गर्नसक्ने व्यवस्था गरेको छ । यसअघि यसमा ४५ दिनको म्याद थियो ।

राष्ट्र बैंकका अनुसार २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ