काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर शेयर बजारमा लगानी गर्नेहरुको संख्या बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लिएको लचिलो नीति र शेयर बजार परिसुचक पनि सकारात्मक भएपछि बैंकहरुको कर्जा प्रवाह बढेको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाको शेयर धितोमा कर्जा प्रवाह १०.७ प्रतिशतले बृद्धि भएको छ । गत आवको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा भदौसम्ममा बढेर ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
भदौ मसान्तसम्म १ करोडभन्दा बढीको सेयर धितो कर्जा असारको तुलनामा १७.९ प्रतिशतले बढेर ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ भने ५० लाख देखि १ करोडसम्मको कर्जा ३.२ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ पुगेको छ । २५ लाखदेखि ५० लाखसम्मको शेयर धितोकर्जा भने ३ प्रतिशतले घटेर १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ भने २५ लाख रुपैयाँसम्मको कर्जा ३.९ प्रतिशतले घटेर ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ मात्रै रहेको छ ।
बैंकहरुको कर्जा अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै राष्ट्र बैंकले तीन वर्षअघि र शेयर धितो कर्जामा सीमा तोक्न थालेको थियो । सुरुमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको राष्ट्र बैंकले त्यसलाई बढाएर गत वर्ष व्यक्तिगत लगानीकर्तालाई १२ करोड र संस्थागत लगानीकर्ताका लागि भने २० करोड सीमा तोकेको थियो । चालु आवको मौद्रिक नीतिबाट भने संस्थागत लगानीकर्ताका लागि सीमा लागू नहुने व्यवस्था गरेको छ ।
प्रतिक्रिया