काठमाडौ । नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुको बढ्दो खराव तथा निष्कृय कर्जा, गैर बैकिङ सम्पत्तिमा भएको बढोत्तरीका कारण नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने भएकोले यसको व्यवस्थापनका लागि कम्पनीको आवश्यकता रहेको उनीहरुले बताएका हुन् ।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा ‘सम्पत्ति पुनःनिर्माण व्यवासाय’विषयक कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा सहभागिहरुले सम्पत्ति व्यवस्थापनका लागि एक स्वतन्त्र कम्पनीको आवश्यकता रहेको बताएका हुन् ।
कार्यक्रममा भारतको एसेट रिकन्स्ट्रक्सन इण्डिया लि. (एआरसिल) का पूर्व प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक तथा विज्ञ विनायक बहुगुणाले खराव तथा निष्कृय कर्जा र गैर बैकिङ सम्पत्तिलाई तरल सम्पत्तिमा परिणत गर्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी राम्रो रहेको बताए ।
उनले भने,‘सम्पत्ति व्यवस्थापन÷पुनर्निर्माण कम्पनी स्थापनाको विषय नेपालको सम्दर्भमा पनि महत्वपुर्ण छ, नेपालमा करिव ४ खर्ब बराबरको गैर बैकिङ सम्पत्ति डम्प भएर बसेको पाएको छु, यसलाई व्यवस्थापन गर्नुपनि जरुरी छ । तर कतिपय अवस्थामा प्रतिकुल समेत हुने भएकोले त्यसतर्फ विशेषरुपमा सचेत हुनुपर्छ ।’
बहुगुणाले सम्पत्ति पुनः निर्माण÷व्यवस्थापन कम्पनीहरुको सफलता देशको परिस्थितिमा निर्भर हुने भन्दै कम्पनी खोल्दा राजनीतिक अवस्था, नियामकीय क्षमता,दक्ष जनशक्ति लगायतका कुराहरुबारे गहन अध्ययन गर्नुपर्ने धारणा राखे ।
भारतमा यस्ता कम्पनीहरुको शुरुवाती व्यस्थापन तथा संचालनमा केही समस्या देखिएको भएतापनि पछिल्लो अवस्थामा सुखद परिणामहरु देखा परिरहेको उल्लेख गर्दै नेपाली बैंकिङ क्षेत्रले पनि यस विषयमा आवश्यक कदम अगाडि बढाउँदा भविष्य राम्रो हुने र नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिने उनको दावी थियो ।
त्यसैगरी सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता सन् २००९ देखि नै परेको दावी गर्दै पछिल्लो समयमा नेपाल राष्ट्र बैंक यस विषयमा कन्भिन्स भएको बताए ।
उनले भने, ‘बैंकहरुको तर्फबाट त पहिले नै सम्पत्ति व्यवस्थापनका लागि कम्पनीको आवश्यकता रहेको भन्दै आएका हौ तर परिस्थितिले साथ दिएको थिएन अव भने परिस्थितिले साथ दिइरहेको छ, राष्ट बैंक पनि कस्तो खालको कम्पनी खोल्ने भन्नेबारे मस्यौदा तयार गरिरहेको छ ।’
पौडेल पछिल्लो समयमा नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः बैकिङ क्षेत्रमा जोखिम थपिदै गएको दावी गर्दै बैंक तथा वित्तीय संस्थाहरु बाध्यतावश कर्जा असूली र गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनतर्फ बढि केन्द्रित हुनुपरेकोले विसुद्ध बैंकिङ कारोबारमा ध्यान दिन नसकेको बताउँछन् । उनले सम्पत्ति व्यवस्थापन कम्पनी स्वतन्त्र निकाय हुनुपर्ने र यसमा नियामकीय निकायको पनि सेयर हुनुपर्ने धारणा राखे ।
यस्ता कम्पनीको स्थापनाले बैंकिङ प्रणालीको दिगो विकासका लागि मात्र नभई सुदृढ अर्थतन्त्र निर्माणमा समेत ठोस योगदान पुग्ने उनको भनाई छ । सिबिफिनका महानिर्देशक रोशन कोइरालाले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति कोभिड १९ पछि बढीरहेको डाटा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे र बैंकिङ क्षेत्रमा विशेष दक्षता राख्ने वरिष्ठ चाटर्ड एकाउन्टटेन्ट प्रभुराम भण्डारीविच सम्पत्ति पुनः निर्माण कम्पनीको आवश्यकता, संचालन मोडालिटि र चुनौतिको बारेमा प्यानल डिसकसन समेत भएको थियो ।
प्रतिक्रिया