काठमाडौं । शेयर बजार सूचक ओरालो लागेपनि बैंक, वित्तीय संस्थाहरुको शेयर धितो कर्जा भने बढाउदै लगेका छन् ।
चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पुससम्ममा बैंक, वित्तीय संस्थाहरुले शेयर धितामा एक खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत आवको असारको तुलनामा शेयर धितो कर्जा २६ प्रतिशतले बृद्धि भएको हो । गत असारसम्ममा शेयर धितोमा लगानी ९० अर्ब रुपैयाँ थियो ।
बैंकहरुको कर्जा अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै राष्ट्र बैंकले तीन वर्षअघि र शेयर धितो कर्जामा सीमा तोक्न थालेको थियो । सुरुमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको राष्ट्र बैंकले त्यसलाई बढाएर गत वर्ष व्यक्तिगत लगानीकर्तालाई १२ करोड र संस्थागत लगानीकर्ताका लागि भने २० करोड सीमा तोकेको थियो । चालु आवको मौद्रिक नीतिबाट भने संस्थागत लगानीकर्ताका लागि सीमा लागू नहुने व्यवस्था गरेको छ ।
बैंकहरुसँग तरलता बढी रहेको र ब्याज पनि कम भएकाले शेयर धितो कर्जामा लगानी बढाइरहेको छन् ।
गत वर्षको माघ महिनामा २१ सय अंकको बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक हाल साढे २६ सय अंकभन्दा माथि छ । २०८० को माघ अन्तिमतर्फ २१ सय अंकको बिन्दुमा रहेको शेयर बजार परिसूचक २०८१ असार मध्य साताबाट भने बढ्न थालेको थियो । त्यतिबेला एमाले र माओवादीको साझेदारीमा रहेको सत्ता समीकरण फेरबदल हुँदा परिसूचकले सकारात्मक मोड लिएको थियो। उक्त समय २ हजार अंक आसपास रहेको नेप्से परिसूचक निरन्तर बढेर ३ हजार अंकको बिन्दु छोएको थियो । तर, त्यसयता फेरी परिसूचक बढ्न सकेको छैन ।
प्रतिक्रिया