काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा यस वर्षको ‘नाडा अटो शो’मंगलबारदेखि काठमाडौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरे ।
नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले आर्थिक मन्दीले अटोमोवाइल क्षेत्रलाई प्रभावित गरेको बताउँदै नाडा अटो शोले अटो उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
प्रदर्शनीलाई पाँचवटा भागमा विभाजन गरिएको छ । चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा शोलाई विभाजन गरिएको हो ।
प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रेका ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् ।
त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
नाडा अटो शो अगस्ट २७ (आज) देखि सेप्टेम्बर १ सम्मआयोजना हुनेछ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ । शो मा १५ देखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।
शोमा सहभागी मध्ये एक जनाले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको छ ।
प्रतिक्रिया