काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै १० वटा उद्योगको लाइन काटेको छ । विहिबार राती ८ बजेसम्ममा अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको एक उद्योगीले जानकारी दिए ।
विहिबार साँझ उर्जामन्त्री दिपक खड््कासँग कार्यकारी निर्देशक कुलमान घिसिङले भेट गरेका थिए । मन्त्री खड्कासँगको भेटपछि आक्रोसित भएका घिसिङले बक्यौता रकम नतिर्ने उद्योगीहरुको लाइन काट्न थालेका हुन् ।
मन्त्री खड्कासँग यदी बक्यौता नतिर्नेहरुको लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले यस विषयमा निर्णय गर्नुपर्ने घिसिङले बताएका थिए । तर मन्त्रीपरिषद्ले यस विषयमा निर्णय नगरेपछि घिसिङले लाइन काट्न निर्देशन दिएका हुन् ।
विहिबार विहान विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्री खड्काले एक पटक उद्योगीहरुसँग सल्लाह गरेर बैकल्पिक उपाय खोजेर निर्णय गर्न घिसिङलाई निर्देशन दिएका थिए
त्यस्तै विहिबार नै प्राधिकरणले उद्योगीलाई बोलाएर बक्यौता तिर्न आग्रह गरेको थियो । यसअघि विद्युत प्राधिकारणले उद्योगीहरुलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न ३ महिनाको समय दिएर लाइन जोडिदिएको थियो । सो समय विहिबार (आज) पुरा भएको छ ।
उद्योगी व्यवसायिहरु बक्यौता तिर्न भन्दा राजनीतिक दललाई खुसी पार्नतिर लागरे तीन महिनाको समय सकाएका थिए । उद्योगीहरुले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएका छन् । उनीहरुले प्रमाण नभएको भन्दै बक्यौता नतिर्ने बताउँदै आएका छन् ।
#विद्युतप्राधिकरण #कुलमान
प्रतिक्रिया