काठमाडौं । उच्च अदालत, पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । विहिबार उच्च अदालत पाटनले रिलायन्सको आईपीओ निष्कासन तत्कालका लागि रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
रिलायन्सले बुक विल्डिङ विधिको दुरुपयोग गरेको , चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लेखापरिक्षकले प्रमाणित गरेको अपरिस्कृत वित्तीय विवरण अन्तर्राट्रिय र राष्ट्रिय लेखामान सिद्धान्तको विपरित रहेको र कम्पनीको अनुमानित प्रतिशेयर नेटवर्थ प्रक्षेपित विवरण र वास्तविकमा सामन्जस्यता नदेखिएको भन्दा अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले कम्पनीमाथि मुद्धा दर्ता गरेका थिए ।
नेपाल धितोपत्र बोर्ड र अर्थमन्त्रालयलाई विपक्षि बनाई हालिएको मुद्धामा साउन १४ गते विपक्षी सहित छलफलको लागि बोलाइएको उच्च अदालते जनाएको छ । रिलायन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको थियो । कम्पनीले बोर्डबाट असार १३ गते सर्वसाधारणका लागि ९४ करोड ८८ लाख ११ हजार ९६८ रूपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।
बोर्डको अनुमति पाएसँगै सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले विक्री गर्न लागेको थियो । यसअघि कम्पनीले गत माघमा योग्य संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता आईपीओ विक्री गरिसकेको छ । प्रतिकित्ता ९१२ रूपैयाँमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री गरेको कम्पनीले सर्वसाधारणमा उक्त मूल्यभन्दा १० प्रतिशत कम मूल्य अर्थात प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २ रूपैयाँ ८ पैसामा झरेको छ । गत असार मसान्तसम्म ५४ रूपैयाँ ३४ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको पछिल्लो ९ महिनामा प्रतिशेयर आम्दानी उल्लेख्य मात्रामा घटेको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको आईपीओका मूल्य लगानीकर्तामा भार पर्ने चर्चा चलेको थियो ।
सर्वत्र चर्चापछि सार्वजनिक लेखासमितिले यस कम्पनीको आईपीओका सम्बन्धमा पाँच प्रश्न गर्दै मंगलवार सात दिनभित्र जवाफ पठाउन बोर्डलाई निर्देशन दिएका थियो । सोही निर्देशन बमोजिम कम्पनीको आईपीओ तत्कालका लागि रोकिएको हो ।
नेपालमा लागू भएको बुक विल्डिङ विधिबाट दोस्रो कम्पनीको रुपमा यस कम्पनीले आईपीओ निष्कासन गर्न लागेको थियो । यसअघि सर्वोत्तम सिमेन्ट्सले यो बिधिबाट आईपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया