वि.सं. २०८१ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु आर्थिक बर्षमा ५.१ प्रतिशत आर्थिक बृद्धि हुने विश्व बैंकको प्रक्षेपण

अर्थटुडे
२०८१ आश्विन १६, बुधबार

काठमाडौं । विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बुधबार विश्व बैंकले ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक बर्षमा पर्यटक आगमनमा बृृद्धि हुने, जलविद्युत र धान उत्पादनमा बृद्धि हुने हुदा अर्थतन्त्र विस्तारमा सहयोग पुगी आर्थिक बृद्धिदर गत बर्षको भन्दा १.२ प्रतिशत विन्दुले बढी हुने प्रक्षेपण गरेको हो । गत आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ३.९ रहेको थियो ।

सार्वजनिक प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्र आगामी आर्थिक बर्ष(सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रिय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहनेछ ।

यद्यपि प्रतिवेदनले बहु जोखिमहरु पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको निरन्तरता नहुनु, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाई, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरु रहेका छन् ।

प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा रहेको बताए ।
बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनालाई सम्पन्न गरी पूँजीगत खर्च बढाउने नेपालको प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्ने उनले बताए । यसले आन्तरिक उत्पादन बढाउने र धेरै रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

आप्रवासी श्रमिक प्राप्त गर्ने खाडी मुलुक र मलेसियामा आएका झट्काले पनि वृद्धिलाई धिमा गर्न सक्ने उनले बताए । खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पूँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पु¥याउने देखिएको छ । नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसर र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम देखिएको छ ।

प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्य प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तार सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपलाई प्राथमिकता साथ उल्लेख गरेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले वृद्धिको गति कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले पूर्वाधार, सुशासन, मानव पूँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता रहेको उल्लेख गरे । ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्स मार्फत धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्षलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्नेे जीवन्त घरेलु अर्थतन्त्र निर्माण नेपालको भविष्यका लागि महत्त्वपूर्ण छ,’ उनले भने ।

उनले सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्ने बताए । श्रमिकलाई विदेश जान राम्रो तयारी गराउने र श्रम बजारमा आप्रवासीको सुरक्षा र आवतजावत सुनिश्चित गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ