काठमाडौं । लामो समयको कसरपछि अन्ततः नेपालले बंगलादेशसँग विद्युत व्यापार गर्ने भएको छ । विहिबार काठमाडौमा आयोजित एक कार्यक्रमकाविच नेपाल विद्युत प्राधिकारण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (विपीडीबी) र भारतको विद्युत व्यापार निगम (एनभीभीएन)विच त्रिपक्षीय उर्जा विक्रि सम्झौता (पिएसए) भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको विद्युत व्यापार निगमकी प्रमूख प्रमुख कार्यकारी अधिकृत रेणु नर्याङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै नेपालले पहिलो चरणमा भारतीय विद्युत प्रसारणलाईनको प्रयोग गरी बंगलादेशमा ४० मेगावाटको विजुली विक्रि गर्ने सम्झौता भएको छ । ५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । अहिलेसम्म नेपालले भारतलाई मात्र विद्युत विक्रि गरेको थियो ।
तत्कालिन उर्जामन्त्री बर्षमान पुन र बंगलादेशका तत्कालिन विद्युत उर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले २०७५ साउन २५ गते विद्युत क्षेत्रमा सहकार्य गर्ने प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।
सो सम्झौता गत जुलाइमा हुने मिति तय गरिएपनि बंगलादेशमा भएको राजनीतिक उथलपुथलले सरेको थियो । कार्यक्रममा बोल्दै विद्युत प्राधिकरणका प्रमूख कार्यकारी निर्देशक कुलमान घिसिङले यो सम्झौता दक्षिण एसियाको ऊर्जा सहकार्यमा “कोसेढुंगा” भएको दावी गरे । उनले भने, ‘यो हाम्रो साझा भिजनको परिणाम हो । यसले क्षेत्रीय तथा उपक्षेत्रीयसहकार्यको ढोका खोल्ने छ,’।
सम्झौता अनुसार नेपाल विद्युत प्राधिकारणले प्रति युनिट ८ रुपैयाँ ६४ पैसामा वंगलादेशलाई विद्युत निर्यात गर्नेछ । त्यस्तै बंगलादेश निर्यात गर्दा भारतलाई प्रसारणलाई प्रयोगगरेवापतको चार्ज (ह्वीलिङ चार्ज) भने बंगलादेशले नै तिर्नेछ । नेपालले भारतको मुजफ्फरपुरमा राखेको विद्युतको मिटरबाट बंगलादेशमा निर्यात हुने विद्युतको रेकर्ड राखिने पनि सम्झौतामा उल्लेख गरिएको छ । मुजफ्रसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट बंगलादेशको सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बिक्रीको विद्युतको मूल्य बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ ।
यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुनेछ । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँबराबरको विद्युत् बंगलादेश निर्यात हुने कार्यकारी निर्देशक घिसिङको दावी छ । भारतको आवश्यक अनुमति पाएपछि निर्यात सुरु हुने उनले बताए । नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक हुने जानकारी पनि उनले दिए ।
घिसिङका अनुसार नेपालको १० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई विद्युत् निर्यात गर्ने लक्ष्य रहेको छ । प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । बंगलादेशले सन् २०१६ मै बनाएको ऊर्जा प्रणाली गुरुयोजनामा नेपालबाट विद्युत् आयात गर्ने उल्लेख थियो । यो गुरुयोजनामा नेपाल र भारतको उत्तरपश्चिमबाट ८ हजार ५ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने उल्लेख थियो ।
तर, नेपालबाट विद्युत् निर्यात गर्न भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ । त्यसका लागि बहुउद्देश्यीय सम्झौता हुनुपर्ने पनि उल्लेख थियो ।
#बंगलादेशमा विजुली बेच्ने सम्झौता #त्रिपक्षीय सम्झौता #विद्युत व्यापार
प्रतिक्रिया