वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलो पटक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात, दक्षिण एसियामा विद्युत् व्यापारमा कोशोढुंगा

अर्थटुडे
२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौ । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको छ । शुक्रबार नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले अनलाइनमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरेका छन् ।

योसँगै नेपालले अव तेस्रो मुलुकमा पनि विद्युत निर्यात गर्नेछ । हालसम्म भारतमा मात्र नेपालले विद्युत निर्यात गर्दै आएको थियो । शुभारम्भपछि बोल्दै ऊर्जा मन्त्री खड्काले बंगलादेशमा विद्युत निर्यात हुनुु भनेको विद्युत इतिहासमा नै कोशेढुंगा सावित भएको भन्दै दक्षिण एशियामा विद्युत व्यापारमा पनि यसले महत्वपुर्ण भुमिका खेल्ने दावी गरे । उनले विद्युत निर्यातको लागि सहजीकरणको भूमिका खेलिदिएकोमा भारत सरकार र बंगलादेशलाई उनले धन्यवाद दिए ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत् पुग्नेछ । आजको दिनमात्र बंगलादेशमा विद्युत निर्यात हुनेछ ।

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ ।

प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत् बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।

नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ