काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु भएको छ । सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरिएपछि सो सुरुङमार्ग छिचोलिएको हो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले सुरुङमार्ग सफल आयोजना सावित भएको दावी गर्दै सो क्षेत्रका यात्रीहरुलाई पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट राहत पुग्ने दावी गरे । त्यस्तै सो सुरुङमार्गले सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदानमा सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे ।
नेपाल सुरुङयुगमा प्रवेश गरिसकेको दावी गर्दै, त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए । मुलुकमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जाने र प्रयासहरु यसैतर्फ केन्द्रित रहेको स्पष्ट पारे ।
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।
यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग(भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण हुन लागेको हो । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङमार्ग निर्माण भइरहेको हो ।मुख्य सुरुङमार्गको चौडाई साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कूल लम्बाई ११२६ मिटर छ ।
आयोजनाले उत्तर र दक्षिणतर्फबाट एनएटीएम प्रविधिमार्फत खन्दै सुरुङको बीचमा १ मिटरजतिको दूरी बाँकी राखिएको थियो । सुरुङको उत्तर र दक्षिण भाग जोड्न १ मिटर मात्रै बाँकी राखिएको थियो । यहि १ मिटर ब्लास्ट गरेर अन्तिम ब्रेक गरिएको हो।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर(भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो ।
सडक विभागले यो कर्पोरेशनसँग २०७८ फागुन २५ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात २०८३ चैत ७ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापश्चात् २०८० पुषदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको थियो ।
यस्तै व्लास्टिङ गर्ने काम २०८१ जेट १३ गतेबाट सुरु भएको थियो । सुरुङ दैनिक १० मिटरको दरले खनिएको थियो ।
प्रतिक्रिया