काठमाडौ । सात महिनामा नेपालमा भित्रने रेमिट्यान्स ९ खर्ब ५८ अर्ब पुगेकाे छ । राष्ट्र बैंकका अनुसार चालु आवको माघसम्ममा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
त्यस्तै माघसम्ममा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्व ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा छ ।
२०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघमा ११ दशमलव ७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१\८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैगरी चालु आवको माघमा महंगी बृद्धिदर भने घटेको छ । माघ महिनामा उपभोक्ता महंगीदर ४ दशमलव १६ प्रतिशत कायम भएको छ । गत आवको यसै अवधिमा अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया