वि.सं. २०८१ कार्तिक ७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समता घरेलु लघुवित्तको एफपिओ कात्तिक १२ देखि, ९ सयको शेयर एक सय रुपैयाँमै

अर्थटुडे
२०८१ कार्तिक ७, बुधबार

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले तीन लाख ५० हजार कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कात्तिक १२ गतेदेखि सर्वसाधारणका लागि एफपीओ विक्री गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले असोज २९ गते कम्पनीलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ विक्री गर्न अनुमति दिएको थियो । साविकको स्मार्ट लघुवित्त वित्तीय संस्था प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि सर्वसाधारणमा एफपिओ जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार संस्थापकतर्फ ६९.४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर संरचना कायम हुने गरी अपुग रकम ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ विक्री गर्न लागिएको हो ।

एफपीओ छिटो अवधि कात्तिक २० गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक २६ गतेसम्मको मिति तय गरिएको छ ।
हाल दोस्रो बजारमा लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ९ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । जसका कारण कम्पनीको एफिपिओमा बढी आवेदन पर्नेछ ।
कम्पनीको एफपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने छ ।

कम्पनीको चुक्तापुँजी ५६ करोड ४० लाख ६ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ कायम हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ