काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द रहेका उद्योग सञ्चालनका लागि सरकार लागिपरेको बताएका छन् । पर्वतको सदरमुकाम कुश्मामा शनिबार आयोजित अन्तक्र्रियामा उनले औद्योगिक क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास नहुने भएकाले सरकारले औद्योगिकीकरणलाई पहिलो प्राथमिकतामा रोखेको बताए ।
मन्त्री जोशीले हैटौँडा कपडा कारखाना तथा नेपाल औषधि लिमिटेडलाई शिघ्र सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी दिए ।
साथै वीरगन्ज चिनी कारखाना र बुटवल धागो कारखाना सञ्चालनका लागि निजी क्षेत्रलाई दिइने भएको छ । कारखाना सञ्चालनको लागि बोलपत्र आह्वान गर्ने तयारी भएको मन्त्री जोशीको भनाइ छ ।
पर्वतमा लप्सी र अल्लो उद्योगको सम्भावना देखिएकाले अध्ययन गरेर उद्योग स्थापना गर्नका लागि बजेट व्यवस्था गरिने आश्वासन पनि उनले दिए ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतमा औद्योगिक विकास र पर्यटन व्यवसाय विस्तारका बारेमा चर्चा गर्नुभएको थियो । उनले लप्सी र अल्लो उद्योगलाई तत्काल सञ्चालनका लागि पहल गरिदिन पनि माग गरे । रासस
वन्द उद्योग सञ्चालनका लागि सरकार लागिरहेको छ — मन्त्री जोशी
२०७३ कार्तिक २१, आईतवार

प्रतिक्रिया