सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले अनुमति बिना क्रसरउद्योग सञ्चालन गरेको भन्दै स्थानीय प्रशासनले रोक लगाएको छ । सिन्धुपाल्चोकको गाती गाविसको अरनीको राजमार्गको भोटेकोशी नदीको किनारमा आयोजनाले अबैध क्रसर सञ्चालन गरेको हो ।
जिल्ला विकास समिति मार्फत दहत्तरबहत्तर अनुसार दर्तानै नगरी क्रसर सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आयोजनाको क्रसर ९ दिन अगाडि देखि बन्द गरेको थियो ।
तर, आयोजनाका प्रमुख सुनिलकुमार लामाले इआई मार्फत उद्योग मन्त्रालयको अनुमति लिएर क्रसर संचालन गरेको दावी गरेको छ । प्रमुख जिल्ला अधिकारी अन्तरबहादर सिलवालले अनुमति पत्रको प्रमाण भए आएर पेश गर्नु पर्ने बताएका छन् ।
आयोजना प्रमुख लामाले प्रमाण पेश नगरेका कारण कारर्वाही अगाडी बढाई सकेको प्रजिअ सिलवालले बताए । अबैध क्रसर सञ्चालनले वातावरणलाई पनि असर गरेको भन्दै स्थानीयको विरोध आएको प्रशासनले जनाएको छ । एकदिन काम रोकिदा ७० लाख रुपैयाँ बराबरको नोक्सानी भइरहेको जनाउदै क्रसर संचालन गरिदिन आयोजनाले अनुरोध गरेको छ ।
सिन्धुपाल्चोकका प्रजिअ सिलवालले आयोजनाले एकसाता सम्म पनि प्रमाण पेश नगरेका कारण कारवाही प्रक्रिया बढाइएको जानकारी दिए । अबैध काम गरेकै कारण बेलाबेलामा आयोजनाको काममा प्रभावित बन्दै आएको छ । १०२ मेगावाटको क्षमताको उक्त आयोजनाको निर्माण कार्य तिनबर्ष अगाडि सुरु भएको हो ।
प्रतिक्रिया