काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले सहकारी अभियानमा आवद्व नभएका सहकारी संस्थामा मात्र समस्या देखिएको बताएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंकको ११ औं वार्षिकउत्सवमा बोल्दै बडालले सहकारी अभियानमा आवद्व नभए संचालन भएका सहकारीको कारण सिंगो अभियान नै बदनाम भएको बताए ।
“डेढ सय वटा सहकारीमा समस्या आउदा अभियानमा आवद्व तीन वटा संस्थामात्र परेका छन्” उनले भने, “अभियानमा आवद्व नहुने र ऐन नियम मिचेर आफुखुसी चलाएका संस्थाका कारण सहकारी अभियान नै बदनाम भएको छ ।”
सहकारीमा समस्या छ भन्ने देख्दादेख्दै पनि नियामक निकाय चुप लागेर बस्दा समस्या बढ्दै गएको बडालको भनाई थियो । सहकारीको विकासका लागि राज्यको अहिलेको लगानी अपुग भएको भन्दै यसलाई बढाउन उनले आग्रह गरे ।
यसैगरी सभासद् ओमदेवी मल्ल जोशीले देश विकासका लागि सहकारीको विकास आवश्यक भएको बताइन् । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष गणेश बस्नेतले सहकारी बैंकले उत्पादन क्षेत्रमा विषेश प्राथमिकता दिएर लगानी गर्नुपर्ने बताए ।
२०६० साल असार २५ गते स्थापना भएको बैंकमा हालसम्म ७३ जिल्लाका ७ हजार सहकारी संघसंस्था आवद्व भएका छन् । बैंकले २०६७ सालदेखि नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्ने अनुमति पाएको थियो ।
प्रतिक्रिया