वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च, ५.२ प्रतिशतमा सीमित रहने सरकारको प्रक्षेपण

अर्थटुडे
२०७१ असार २७, शुक्रबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वृद्धिदर विगत ६ वर्षयताकै उच्च हो । आर्थिक वर्ष २०७०\०७१ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले वृद्धि हुने लक्ष्य रहेकोमा त्यस्तो वृद्धिदर आधारभूत मूल्यमा ५.२ प्रतिशत र उत्पादन मूल्यमा ५.५ प्रतिशत हुने भएको छ ।

artha man
सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७०\०७१ मा अघिल्लो वर्षमा यस्तो वृद्धिदर आधारभूत मूल्यमा ३.५ प्रतिशत र उत्पादन मूल्यमा ३.९ प्रतिशतमात्र रहेको उल्लेख छ । मौसमी अनुकूलता, लगानीको वातावरणमा सुधार, समयमा नै बजेट आएकाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढ्न गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ४.७ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत वर्ष यस्तो वृद्धि १.१ प्रतिशत मात्र रहेको थियो ।
त्यसैगरी गैर कृषि क्षेत्रमा भने ५.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो क्षेत्र ४.६ प्रतिशतले बढेको थियो । गैर कृषि क्षेत्रमध्ये चालु आर्थिक वर्षमा उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.७ प्रतिशत र ६.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष उक्त क्षेत्रको वृद्धिदर २.५ प्रतिशत र ५.२ प्रतिशत रहेको थियो । गैर कृषि क्षेत्रका विद्युत्, ग्यास तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, वित्तीय मध्यस्थता, घरजग्गा, शिक्षा क्षेत्रको वृद्धिदर गत वर्षको तुलनामा बढेको छ ।

नेपाली अर्थतन्त्रमा क्रमशः परिवर्तन आई सर्वेक्षणमा कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा प्रचलित मूल्यमा चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः ३३.७ प्रतिशत, १४.१ प्रतिशत र ५२.२ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०५८\५९ को प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३७.४ प्रतिशत रहेकामा चालु आवमा यस क्षेत्रको योगदान ३३.१ प्रतिशत रहेको अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९१.१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अंश ८९.९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको कुल उपभोगमा निजी क्षेत्रको उपभोगको अंश ८५.७ प्रतिशत, सरकारी उपभोगको अंश १२.३ प्रतिशत र गैर नाफामूलक संस्थाहरूको उपभोगको अंश दुई प्रतिशत रहेको छ । निजी उद्योगतर्फ खाद्यवस्तु, गैर खाद्यवस्तु र सेवाको अंश क्रमशः ६५.३ प्रतिशत, २३.९ प्रतिशत र १०.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०६९\७० मा सरकारको कुल खर्च ५.७ प्रतिशतले वृद्धि भइ तीन खर्ब ५८ अर्ब ६३ करोड रहेको थियो । चालु आर्थिक वर्षमा नेपाल सरकारले कुल खर्च गत वर्ष भन्दा ४४.२ प्रतिशतले वृद्धि भई रु ५ खर्ब १७ अर्ब २४ करोड पुग्ने अनुमान छ । यसमध्ये चालु खर्च रु ३ खर्ब ५३ अर्ब ४२ करोड र पुँजीगत खर्च रु ८५ अर्ब १० करोड पुग्ने अनुमान छ । चालु आर्थिक वर्षमा १९.७ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५४ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ