काठमाडौं । सरकारले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीको सेवा सुविधा तोकेको छ । विहिबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् भने थप पोशाक भत्ताको रुपमा ७ हजार १ सय रुपैयाँ पाउँनेछन् ।
उनीहरुले यस चुनाबमा पोशाक भने पाउने छैनन् । सरकारले तोके अनुसारको कपडा किन्नको लागि पोशाक भत्ता भने सरकारले उपलव्ध गराएको छ । त्यस्तै निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ भने एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले १७ सय ५० र निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।
त्यस्तै सरकारले उनीहरुलाई विषेष बिमाको पनि व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपुर्ति दिने छ भने एक लाख ५० हजारसम्म स्वास्थ्य बिमा पनि गरिने छ ।
सरकारले निर्वाचनका लागि देशैभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृहमन्त्रालयले सम्बन्धित मतदान स्थलमा खटाउँछ ।
प्रतिक्रिया