गोपी कुमार ठकुरी
वडा अध्यक्षका प्रत्यासी, इन्द्रावति गाउँपालिका वडा नं ६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) को इन्द्रावती गाउँपालिका वडा नम्बर ६ का अध्यक्षका उमेद्धार गोपी कुमार ठकुरी आफ्नो वडालाई जिज्लाकै नमूना वडाको रुपमा विकसित गर्ने लक्ष्यका साथ आएका छन् । वडालाई पर्यटन हब बनाउने, जिल्लामा भएका बिद्यालयहरुमा ई— लाइबेरीको स्थापना गर्ने, ई— शिक्षाको सुरुवात गर्ने लगायतका मूख्य एजेन्डा उनको रहेको छ । विषेषगरी कृषिलाई व्यवसायिककरण गर्नु जरुरी रहेको उनको भनाइ छ । वडा अध्यक्षका प्रत्यासी ठकुरीसँग हाम्रा समाचारदाताले गरेको कुराकानीको संपादित अंशः
तपाई शिक्षक पेसा छोडेर राजनीतिमा किन आउनु भयो ?
म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रावति गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षको उमेदवार हुँ । मैले राजनीतिमा निष्ठावान र इमान्दारिताको खाँचो महसुस गरे । इमान्दार भएर राज्यले दिएको बजेट मात्र वडामा लगानी गर्ने हो भने पनि यत्तिका बर्षमा अहिले जुन इन्द्रावति गाउँपालिका वडा नम्बर ६ भएको छ, त्यो धेरै विकसित भइसक्ने थियो । विकासका नाममा आएको बजेट दलिय भागबण्डा मिलाएर खान्छन् तर काम केही गर्दैनन् । कागजमा मात्र काम देखाएर खाने प्रबृत्ति धेरै हाबी भयो । जनताको बारेमा एक मिनेट राम्रोसँग सोच्ने नेता भएनन् त्यसैले जनताको सेवा गर्नको लागि म राजनीतिमा आएको हु । राजनीतिक नेतृत्वले चाहेको खण्डमा दुई वर्षमा नै कायापलट गर्न सक्छ । धेरै राजनीतिकर्मीले ठूला ठूला सपना मात्र बाँडे काम गरेनन् तर म काम गरेर देखाउँछु । विकास गरेर जनताको घर दैलोमा खुसी ल्याउछु । त्यसका लागि राजनीतिमा आउनु जरुरी छ, त्यसैले म यस क्षेत्रमा प्रबेश गरेको हुँ ।
तपाई त पुरानो पार्टीको उमेदवार तपााईले जित्ने सम्भावना कस्तो छ ?
हो म पुरानो पार्टीमा नै लागेको हुँ । नयाँ पार्टीले अहिलेसम्म केही गर्न सकेको छैन । पहिले नै बरु धेरै कामहरु अगाडी बढीसकेको थियो । पछिल्लो समयमा विभिन्न पार्टीहरु आएपनि काम केही भएन, त्यसैले मैले पुरानो पार्टी नै रोजे । पछिल्लो समयमा जनताहरु पनि ठूला तीन दलको अराजकता देखि बाक्क भएकोले पहिलेकै व्यवस्था आएपनि हुने भन्ने अवस्थामा आइसकेका छन् । पूरानो पार्टी भएपनि नयाँ नयाँ सोच भएका कार्यकर्ताहरु भएकोले मैले यस पार्टी रोजेको हो । मेरो जित्ने सम्भावना धेरै रहेको छ । किनकी करिव १९ बर्ष भन्दा बढी अन्य पार्टीहरुलाई जनताले झेले । उनीहरुले जनतालाई झुक्याए, आँखोमा छारो हाल्ने काम मात्र गरे । काम केही गरेनन् ,विकासको नाममा भ्रष्टचार मौलाउदै गयो । समाजमा विकृति बढ्दै गायो तर दलहरु स्वार्थमा लिप्त भए उनीहरुले जनताको स्वार्थ भन्दा आफ्नो स्वार्थ हेर्नाले जनताको विजोग भयो ।
तपाई को उमेदवारी के का लागि ?
विकासमा अग्रगामी छलाङको लागि मेरो उमेदवारी हो । अहिले २१ औ शताव्दी आइसक्यो तर पनि यहाँका जनता १९ औ शताव्दीका जस्ता छन् । देशकै राजधानी हामीभन्दा निक्कै नजिक छ तर पनि राजधानीको बाछिटा समेतले हामीलाई छुन सकेको छैन । विकासका आारभूत आबश्यकताहरु बाटो, विजुली, खानेपानी, स्वास्थ शिक्षाको सुनिश्चितता छैन । आँपचौरका बासिन्दालाई पानीलिन निक्कै समय हिडन् पर्छ त्यहाँ पानीको व्यवस्था छैन । आजभन्दा करिव २० बर्ष अघि नै सिपाघाट, तिनघरे हुदै आँपचौर सम्मको बाटो खनिएको हो तर अहिले सम्म पनि पिच हुन सकेको छैन । यही बाटोको लागि लाखौको बजेट योजनामा परेका छन् तर कागजमा काम देखाएर दलका नेताहरुले खाने गरेका छन् । पानी परेको बेलामा र बर्षा याममा गाडी आउँदैन । जनताले दुख पाएका छन् । पछिल्लो समयमा फैलिएको भ्रष्टाचार प्रबृत्ति रोक्नको लागि पनि मैले वडा अध्यक्षको लागि उमेदवारी दिएको हुँ ।
तपाई वडा अध्यक्ष हुनु भयो भने के के कामहरु गर्नुहुन्छ ?
म साधारण मानिस हुँ । मैले महत्वकांक्षी योजनाहरु अगाडी सारेको छैन । म जे भन्छु त्यो काम गरेर देखाउँछु । सर्वप्रथम म सिपाघाट, तिनघरे,आपँचौर हुदै हबेली जाने र आँपचौरबाट छाचोक हुदै सल्ले जाने बाटो पिच गर्छु । त्यस्तै आँपचौरबाट सिपाखोलासम्म जाने बाटो पनि पिच गर्छु । किनकी विकासको पहिलो आधार नै बाटो हो । बाटो विना विकास सम्भव छैन ।
मैले यो वडा नम्बर ६ लाई पर्यटन हब बनाउने सोच गरेको छु । हाम्रो वडामा कालिका देबी, कमलादेवी, बछला देवी जस्ता शक्तिका पिठहरु रहेको छ । अर्कोतर्फ हाम्रै वडामा पौराणिक महत्व बोकेको फट्केश्वर महादेव, गौखुरेश्वर लगायतका ठाउँहरु छन् जसको प्रचार प्रसार गरेमा धार्मिक पर्यटकहरुको ओइरो लाग्न सक्छ । त्यसतर्फ विषेश ध्यान दिनेछु । त्यसैगरी होम स्टे व्यवसायलाई पनि प्रात्साहित गर्नेछु । जनजातिको बाहुल्यता भएको स्थान भएकोले उनीहरुको रहनसहन, संस्कृतिको संरक्षण र संबद्र्धनका लागि पहल गर्ने छु । त्यस्तै मध्यभोटेकोसी जलबिद्युत आयोजना जुन हाम्रै जिल्लाको हो उनीहरुसँग मिलेर वडालाई लोडसेडिङमुक्त वडा बनाउँन पहल गर्छु ।
सबैभन्दा विषेष कुरा त यहाँको शैक्षिक पद्धतिलाई नै परिवर्तन ल्याउने प्रयास गर्दछु । परम्परागत रुपमा चलिरहेको शैक्षिक पद्धतिमा आधुनिकीकरण गर्नु जरुरी रहेको छ । यस वडामा रहेको कमलादेबी माध्यमिक बिद्यालय र श्री सिपातिनघरे संस्कृत उच्च माध्यमिक बिद्यालयलमा ई–लाइबेरी स्थापना गर्दछु । जहाँबाट बिद्यार्थीहरुले विश्वभरीका किताव पढ्न सक्छन् भने खोज अनुसन्धानका बारेमा विभिन्न बिज्ञहरुसँग प्रत्यक्ष कुराकानी गरी ज्ञान आर्जन गर्न सक्छन् । अझ भन्ने हो भने विश्वलाई नै आफूमा कैद गर्न सक्छन् ।
त्यस्तै बालबालिका हाम्रो विकासका कर्णधार हुन् त्यसैले उनीहरुको भविष्य राम्रो बनाउनको लागि उनीहरुलाई अहिलेदेखि नै राम्रो शिक्षाको जरुरी छ । स–साना भाइबहिनीहरुको पढाइ भएन भनेर जसरी गाउँबाट बच्चा पढाउनका लागि मानिसहरु शहर केन्द्रित भइरहेका छन् उनीहरुलाई गाउँमा नै फर्काउनका लागि यहाँको शिक्षा पनि राम्रो बनाउनु जरुरी रहेको छ । त्यसका लागि शिशु कक्षा देखि पाँच कक्षासम्म ई–कक्षाको व्यबस्था गर्नेछु जसले गर्दा बच्चाहरुले नयाँ तरिकाबाट शिक्षा पाउने छन् । विस्तारै विश्व नै एक समाजको रुपमा रुपान्तरिक भइरहेको अवस्थामा विश्वसँगको साक्षात्कारको लागि सकेको पहल गर्नेछु ।
त्यसैगरी किसानको लागि मल, विउ, विरुवा लगायतका खेतीका सामग्रीहरु समयमा नै उपलव्ध गराउनको लागि सम्बन्धीत निकायसँग पहल गर्नेछु भने निर्वाहमूखी कृषि प्रणालीलाई आधुनिकीकरण गर्नु जरुरी भएकोले व्यवसायिक कृषि प्रणालीमा जोड दिनेछु । त्यस्तै दलित, महिला र जनजातिको संबृद्धिको लागि घरेलु व्यवसाय, तरकारी खेती लगायतका आम्दानीमूलक स्वरोजगारका कार्यक्रमहरु ल्याउने छु । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय एनजीओ आइएनजीओहरुसँग मिलेर वडाको विकासको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
तपाईको पार्टीले त आफ्नो घोषणापत्रमा हिन्दुराज्यको पुनस्र्थापना प्रमूख एजेन्डा बनाएको छ नी ?
हो, हाम्रो पार्टीले हिन्दु राज्यको पुनस्र्थापनाको प्रमूख एजेन्डा बनाएको छ । हाम्रो देश पहिले पनि हिन्दु राज्य थियो तर पनि सम्पुर्ण धर्मावलम्बीहरुमा धार्मिक सहिष्णुता थियो । हिन्दु राज्य हाम्रो पहिचान हो । विश्वभरमा नेपाल मात्र यौटा हिन्दु राज्यको रुपमा परिचित हुदा हामी गौरबान्वित भएको महसुस गर्दथ्यौ । अहिलेपनि ८० प्रतिशतको हाराहारीमा हिन्दु नै रहेका छन् । कसैको दवामा आएर नेताहरुले हाम्रो पहिचान नै माटोमा मिलाए त्यो पहिचानलाई फेरी व्युताउनका लागि हाम्रो पार्टी लागेको हो ।
अन्त्यमा,
मैले भनेका र प्रतिबता जाहेर गरेका कामहरु म गरेर देखाउँछु । म जनतालाई यो भन्न चाहन्छु की, अहिलेसम्म म राजनीतिमा आइन । तपाईहरुले पहिले अरुलाई धेरैपटक भोट दिनुभयो । यसपालि मलाई भोट दिएर हेर्नुहोस् । मसँग विभिन्न राम्रा योजनाहरु रहेका छन्, तपाईहरुले मलाई भोट दिएर जिताउनु भयो भने यो वडामा विकासमा कायापलट गर्न सकिन्छ ।
प्रतिक्रिया