काठमाडौं । नेपाल र चीनबीच मंगलबार दुइबटा सम्झौता भएका छन् भने एकवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
म्ंगलबार नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र नेपालका उपप्रधान एबं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र परराष्ट्र मन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
अर्थसचिव सुवेदीका अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि चीनले एक अर्ब चिनियाँ आरएमबी अर्थात् १५ अर्ब ३३ करोड नेपाली रुपैयाँ अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
यो रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिने अर्थमन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न पनि सवा २ अर्ब रुपैयाँ दिने सम्झौता भएको छ । त्यस्तैगरी नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा पनि मंगलबार हस्ताक्षर भएको छ ।
सरकारले चीनीयाँ लगानीकर्तालाई सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने योजना बनाएको छ । द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । यसमा चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ ।
त्यस्तै भुकम्पपछि रोकिएको तातोपानी नाका खोल्नका लागि पनि चीनले सैदान्तिक सहमति दिएको छ । दुई देशकै लागि रणनीतिक व्यापारिक मार्ग भएकाले खोल्नुपर्नेमा चीन पनि सकारात्मक रहेको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया