मलेसिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको अध्यक्ष पदमा खगेन्द्र न्यौपाने र रमेश प्रसाद तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । हाल अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य रहेका न्यौपाने र एनसिसि मलेसियाका उपाध्यक्ष तिवारीले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । न्यौपाने र तिवारीमध्ये न्यौपाने बलिया उम्मेदवार रहेको मलेसियामा रहेका नेपालीहरु बताउँछन् ।
एनआरएन मलेशियाको पाँचौं अधिवेशन यही अगष्ट २७ मा हुँदैछ । अगष्ट २० मा उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेद्वारी उपर दाबी/विरोध अगष्ट २२ मा गर्ने गरि तोकिएको छ । नेपालीको प्रमुख रोजगारी गन्तत्वको रुपमा रहेको मलेसियामा हाल करिब ७ लाख नेपाली विभिन्न पेशा तथा रोजगारीमा छन् ।
मलेसियामा रहेका नेपाली समुदायलाई संगठित गर्ने, नेपालीलाई पर्ने समस्यालाई समाधान गर्ने, मलेसियास्थिति नेपाली राजदूतावासको समन्वयमा नेपाली समुदायको हितका लागि विभिन्न कार्य गर्नुपर्ने भएकोले पनि एनआरएन मलेसियाको नेतृत्वलाई महत्वपूर्ण रुपमा लिने गरिएको छ ।
मलेसियामा हुन लागेको यो संघको पाँचौं अधिवेशन हो । संघको सदस्यतापत्र नवीकरण एवं नयाँ सदस्यता लिने समयावधि यही अगष्ट १५ सम्ममा १४५१ सदस्यता बनेको संघले जनाएको छ । अहिले सदस्यताका बारेमा छानविन भइरहेको अध्यक्ष विश्व राईले बताए । संख्यात्मक आधारमा धेरै नेपाली रहेको मुलुक भएपनि यहाँ संघका सदस्यहरु खाडी तथा अन्य मुलुकका तुलनामा कम छन् । बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा संघको यो पाँचौ अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका न्यौपाने र तिवारी दुबै जना मलेसियामा झण्डै एक दशकअघि देखि नै विभिन्न व्यवसायमा संलग्न छन् ।
नेपालको झापा र काठमाडौं घर भएका खगेन्द्र न्यौपाने करिब १२ वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका छन् । मलेसियामा कानुनी, सामाजिक, आर्थिक, राजनीतिक लगायतका झमेलामा परेर पीडामा परेका नेपालीहरुलाई आफूले सहयोग गर्दै आएको उनी बताउँछन् । आगामी दिनमा अझ सक्रियताका साथ नेपाली समुदायको हितमा काम गर्न उम्मेदवारी दिएको न्यौपानेले बताए ।
अध्यक्षमा निर्वाचित भएपछि मलेसियाका मुख्य–मुख्य शहरहरु जोहरबारु, पेनाङ लगायतका स्थानमा एनआरएनको क्षेत्रयि कमिटि गठन गर्ने, नेपाली कामदारलाई दिइने न्यूनतम पारिश्रमिकको सीमा बढाउन मलेसिया सरकार सँग छलफल गर्ने, मलेसियाको जेलमा रहेका नेपालीहरुका बारेमा दुतावाससँग सहकार्य गरी तथ्याङ्क संकलन गरेर नेपाल फर्काउन पहल गर्ने, मलेसियाको श्रम र परराष्ट्र मन्त्रालयसँग छलफल गरी बैधानिक रुपमा रहेका नेपालीहरुले समेत दुःख पाउने गरेकोमा त्यसको अन्त्यका लागि पहल गर्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । नेपाली कामदारप्रतिको मलेसिया सरकारको व्यवहार लचिलो बनाउन राजदुतावाससँग सहकार्य गर्दै आफुले पहल गर्ने न्यौपानेले बताए ।
उनले युरोप, जापान, अष्ट्रेलिया, अमेरिकालगायत देशका एनआरएनले गरेको कामजस्तै गरेर मलेसियाको एनआरएनलाई शिखरमा पु¥याउने बताए । उनले आफु एनआरएनमा लिनका लागि नभइ केहि दिनका लागि आएकोले सबैलाई सहयोग गर्न समेत आग्रह गरे । अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य समेत रहेका न्यौपानेले आफु आफ्नो इच्छामा भन्दा पनि मलेसियामा रहेका हजारौं नेपालीको आग्रहमा उम्मेदवार बनेको बताए । उनले यहाँका प्रवासी नेपालीले आफुलाई विश्वासका साथ नेतृत्व सुम्पन चाहेकाले अन्तर्राष्ट्रिय समन्वय समितीको सदस्य भए पनि एक पटक एनसिसि मलेसियाको अध्यक्ष बनेर मलेसियामा रहेका नेपालीहरुको दुःख र सुखमा साथ दिन चाहेको बताए ।
अध्यक्षका अर्का प्रत्यासी रमेश तिवारीले आफु उपाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । आफुले नेपाली कामदारकै हक हितका लागि उम्मेदवारी दिएको बताए । तिवारी २०१५ मा एनआरएनको केन्द्रीय कार्यालय निर्माणका लागि बोलेको रकम एक लाख ५१ हजार एक सय ११ दुई बर्षसम्म नदिएकाले विवादमा आएका थिए । तिवारी मलेसियाका अर्का विवादित व्यावसायी हरी भट्टराई समर्थित उम्मेदवार भएकोले उनको तिब्र आलोचना भएको छ ।
प्रतिक्रिया