काठमाडौं । नेपाल राष्ट्र बैंकले मुल्य बृद्धिलाई लक्ष्यभन्दा कम राख्न सफल भएको छ । गत आर्थिक बर्षमा नेपाल राष्ट्र बैंकले मुल्यबृद्धिलाई ७.५ प्रतिशतमा राख्ने लक्ष्य लिएपनि लक्ष्य भन्दा तल ४.५ प्रतिशतमा राख्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा मुल्यबृद्धि झण्डै १० प्रतिशतको हाराहारीमा रहेको थियो । गत आर्थिक बर्षको मुल्य बृद्धि अहिले सम्मकै कम भएको नेपाल राष्ट्र बैंकले दावी गरेको छ ।
राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति जारी गर्न सुरु गरेको १० बर्ष यता कै लक्ष्य भन्दा कम मुल्य बृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०५९/६० पछि आर्थिक वर्ष २०६०/६१ र २०६३/६४ मा मात्र वास्तविक मुद्रास्फीति लक्ष्य भन्दा कम रहेको थियो ।
अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण गत आर्थिक बर्षमा मुल्यबृद्धिमा कमी आएको केन्द्रिय बैंकले जनाएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा व्यापारघाटा पनि ९ खर्ब १७ अर्ब बराबरको पुगेको छ । अघिल्लो आर्थिक बर्षमा व्यापारघाटा सात अर्बको हाराहारीमा रहेको थियो ।
आर्थिक बर्ष ०७३/७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा हुँदा देशमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको केन्द्रिय बैंकको तथ्यांकले जनाएको छ । गत आर्थिक बर्षको व्यापार घाटा गत बर्षको बजेटको आकार एक खर्ब रुपैयाँले बढी हो । गत बर्षको लागि सरकारले ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजाररुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
त्यसैगरी रेमिट्यान्स भित्रने दरमा पनि सुस्तता आएको छ । गत आवमा बैदेशीक रोजगारीमा गएकाहरुले ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । अघिल्लो आवमा भने देशमा ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसैगरी अघिल्लो आवमा १ खर्ब ८८ अर्ब रुपैयाँ शोधानान्तर बचतमा रहेको थियो भने गत आवमा भने घटेर यस्तो बचत ८२ अर्बमा सिमित छ ।
प्रतिक्रिया