काठमाडौं । नेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ । संस्थानले बाढीपिडितका लागि पठाउन लागेको सिमिमा एक किलो सम्म ढुंगा समेत भेटिएको छ । आइतबार आपूर्तिमन्त्रालय र आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको खाद्य संस्थानको माइतिघरमा रहेको गोदाममा भएको अनुगमनमा यस्तो भेटिएको हो ।
आपुर्तिमन्त्री शिवकुमार मण्डल समेतको टोलीले अनुगमनका क्रममा बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको सिमी , फापर, उवा र चामलमा अखाद्य तथा गुणस्तरहीन समेत भेटेको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।
संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० किलो सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रा लगायत भेटिएको थियो । त्यस्तै, संस्थानले मौज्दातमा राखेको फापर सडेको पाइएको छ भने संस्थानमा दुई वर्षभन्दा पुरानो चामल समेत रहेको छ ।
२०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किए छ र सोही थन्किएका सामग्री बाढीपिडितका लागि राहत स्वरुप संस्थानले लैजान लागेको थियो ।
संस्थानको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले खाद्यान्न कारोबार र भण्डारणमा खाद्य संस्थानले चरम लापरवाही गरेको र लापरवाहीमा संलग्नमाथि कडा कारवाही गर्ने बताए ।
प्रतिक्रिया