काठमाडौं । चीनको हङकङ रेड लायन र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा बनाइएको होङ्सी शिबम् सिमेन्ट कम्पनीसँग लगानी बोर्डले परियोजना लगानी सम्झौता (पीआइए) गरेको छ । आइतबार एक कार्यक्रमकाबिच कम्पनी र बोर्डले पिआइए सम्झौतामा हस्ताक्षर गरेका हुन् । एक बर्षभित्रमा उत्पादन सुरु गर्ने लक्ष्यसहित आइतबार बोर्डका अध्यक्ष महाप्रसाद अधिकारी र होङ्से शिबम् सिमेन्ट निर्देशक लाइ बेपिङले पीपीएमा हस्ताक्षर गरे ।
नवलपरासीमा रहने कारखानामा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने कम्पनीले जनाएको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको समेत कम्पनीले जनाएको छ । यो सम्झौतासँगै कम्पनीले निर्माण कार्य अघि बढाउने बाटो खुलेको छ ।
कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको पनि कार्यक्रममा जानकारी दिइयो । परियोजनाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन हुने र यसले गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा सुरुगर्ने कम्पनीका निर्देशक लाइ बेपिङले कार्यक्रममा जानकारी दिए ।
सो कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले होङ्सीसँगको सहकार्यले नेपालमा लगानीको वातावरण भएको सन्देश दिएको दावी गरे । उनले उच्च आर्थिक बृद्धिका लागि आर्थिक सुधारमा सरकार केन्द्रित भएको बताउँदै वैदेशिक लगानीका कम्पनीहरुलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले यस परियोजनााई सरकारले आवश्यक पूर्वाधार सुविधा पनि उपलब्ध गराउने जानकारी दिए ।
त्यस्तै लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले होङ्सीसँगको सम्झौताले विदेशी लगानीकर्ताकालागि नेपाल बास्तवमै आकर्षक गन्तब्य रहेको प्रमाणित भएको दाबी गरे । कार्यक्रममा नेपाली साझेदारका तर्फबाट सतिशकुमार मोरले कम्पनीले चाडै नै उत्पादन थाल्ने बताए ।
प्रतिक्रिया