काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दिन थालेका छन् । केही समय अघिसम्म बजारमा तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गरेका थिएनन् तर अहिले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यका साथ पछिल्लो समयमा सेयर कर्जा लिन आग्रह गरिरहेका छन् भने ब्याजदरसमेत घटाएका छन् ।
‘क’ वर्गको नबिल बैंकले सजिलो कर्जालाई नै ‘नबिल सेयर कर्जा’ भनेर सेयरमा लगानीका लागि ऋण दिने योजना ल्याएको छ । आफूसँग भएको सेयर धितोमा राखेर सहज रुपमा कर्जा लिन सकिने सो बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जाको योजना शुरु गरेको छ । ‘ख’ वर्गको उक्त बैंकले सेवा शुल्कमा विशेष छुट दिएको छ र ऋण लिनका लागि आग्रह गरेको छ । सो बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकमा लगानीयोग्य रकमको मात्रा बढ्दै गएको अवस्थामा अरु बैंकले जस्तै आफ्नो बैंकले पनि शेयर कर्जा योजना ल्याएको जानकारी दिए ।
उनले भने “नेपाल स्टक एक्सचेन्जमा लगातार सेयरको मूल्य घटेर बजार प्रभावित भइरहेको बेला केही राहत प्रदान गर्ने काम सेयर कर्जाले गर्न सक्छ ।” नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २५.४७ अंकले घटेर एक हजार ५५४.५६ बिन्दुमा पुगेको छ ।
उनका अनुसार आवश्यक कागजात पेश गरेको दुई दिनमै सेयर कर्जा पाइने छ । सर्वसुलभ दरमा सहजरुपमा शेयर कर्जा दिने घोषणा गरेको छ । बैंकले न्यूनतम १२ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिन थालेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।
यस्तै कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । सो योजना सार्वजनिक भएको सात दिनभित्रै उल्लेख्य मात्रामा ऋण लिन चाहनेले आवेदन दिएको सो बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए। बैंकले १२ प्रतिशतमा शेयर कर्जा दिने गरी ‘कैलाश सेयर लोन योजना’ ल्याएको छ ।
हाल बजारमा सेयर कर्जा १५ प्रतिशतभन्दा कममा पाइन्न । यस समयमा बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने योजना ल्याएको उनले जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले न्यूनतम रु ९० करोडसम्म सेयर कर्जामा लगानी गर्ने योजना बनाएको र त्यसले ग्राहकलाई बैंकप्रतिको विश्वास समेत बढाउने आशा ब्यक्त गरे।
बैंकले बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि ऋण दिने योजना ल्याएको हो । कागजात पुगे एकै दिनमा र नभए प्रक्रिया थालेको दुई दिनमा सेयर कर्जा पाइने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले प्राथमिक पूँजीको ४० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाउन थालेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था सेयर कर्जातर्फ आकर्षित भएका हुन् । रासस
प्रतिक्रिया