काठमाडौं । जनता बैंकले गुरुप्रसाद न्यौपानेको श्रीमतिको नाममा रहेको सेयर जफत गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकले न्यौपानेको श्रीमति सुमित्रा न्यौपानेको ८५ हजार कित्ता सेयर जफत गर्ने भएको हो ।
सो सेयर न्यौपानेले सञ्चालक समितिमा रहेका बेला माछापुछ्रे बैंकसँगको मर्जर हुने विषय चल्दा श्रीमतिको नाममा किनेका थिए । सञ्चालक समितिको बैठकले पनि सुमित्रा न्यौपानेको सेयर जफत निर्णय गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले भदौको दोस्रो साता नै न्यौपानेले जनता बैंकको सञ्चालकमा रहदा बैकिङ कसुर गरेको जानकारी जनता बैंकलाई पठाएको थियो । केन्द्रिय बैंकले सोही आधारमा न्यौपानेकी श्रीमती सुमित्रादेवी न्यौपानेका नाममा रहेको सेयर जफत गर्न निर्देशन दिएको हो ।
जनता बैंक स्रोतका अनुसार न्यौपानेले श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ताभन्दा बढी सेयर आफु सञ्चालक भएकै बखत खरिद गरेका थिए । त्यसपछि निष्काशन भएको ५० प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनस सहित गरी ८५ हजार कित्ताभन्दा बढी सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कुनैपनि बैंक तथा वित्तिय संस्थामा सञ्चालक पदमा रहँदा आफु तथा परिवारका सदस्यको नाममा त्यही संस्थाको सेयर खरीद गर्न पाइदैन । तर न्यौपानेले आफ्नी पत्नीको नाममा सेयर खरिद गरेका थिए ।
सुमित्राको नामको सेयर जफत गरी बैंकले बोलकबोल मार्फत सर्बसाधारणलाई विक्रि गर्ने छ । यसअघि न्यौपानेले श्रीमतीका नाममा सेयर खरीद गरेको सम्बन्धमा राष्ट्र बैंकमा उजुरी परेको थियो । सो सम्बन्धी छानविन थालेपछि न्यौपानेले सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया