काठमाडौ । मंगलबार सेयरबजारमा भारी गिरावट आएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) करिव ३५ अंकले ओरालो लागेको थियो तर सोमबार भने केही बढेकोले लगानीकर्ताहरुमा आशा पलाएको थियो । मंगलबर भने सेयर बजारर ह्वात्तै ओरालो लाग्दा लगानीकर्ताहरु निरास देखिन्छन् । यसदिन कारोबार रकममा पनि गिरावट आएको छ ।
मंगलबार नेप्से २१.०६ अंकले घटेर १५०२.२० अंकमा अडेको छ । यसदिन १५३ कम्पनीको ५६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २८ करोड कम हो । बैंकहरुले व्याजदर घटाएका छैनन् आगामी बर्षबाट प्यान अनिवार्य गरिने बिषयमा अन्योलता लगायतका कारणले बजारमा असर गरेको लगानीकर्ताहरु बताउछन् ।
त्यस्तै हकप्रद, एफपिओ तथा आइपिओ आउने क्रम जारी रहेको र विगतको हकप्रद बोनस सूचिकृत भएकाले आपूर्ति बढ्दा बजार घटेको हो । त्यस्तैगरी नेपालीहरुको महान् चाड दशै नजिकिदा पनि मानिसहरुले आफूसँग भएको सेयर बेचेरे दशै खर्च जुटाउन लाग्दा बजार ओरालो लागेको हो । दसँै पछि भने बजार उकालो लाग्ने बजार बिश्लोषकहरु बताउँछन् ।
यसदिन सबैभन्दा धेरै बीमा समूहको सूचक १८५ अंकले घटेको छ । होटल, बीमा, जलविद्युत, विकास बैंक लगायतको सूचक पनि दोहोरो अंकले नै झरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३ करोड ५२ लाखको कारोबार भयो । अन्य कुनै कम्पनीको कारोबार रकम दुई करोड पुग्न सकेन ।
उच्च अंकले घटेको बजारमा दुई कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । युनाईटेड फाइनान्स र प्रोगेशिभ फाइनान्सको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको हो । १९ प्रतिशत बोनस र विदेशी साझेदार भित्र्याउने सूचना सार्वजनिक भएपछि युनाईटेड फाइनान्सको सेयरमूल्य बढेको हो ।
यसदिन कामना सेवा विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले घटेको छ । कामना र सेवा विकास बैंक मर्ज भई बनेको बैंकको आजै बाट सेयर कारोबार खुलेको हो ।
प्रतिक्रिया