वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुलमानको प्राधिकरणमा एक बर्षः लोडसेडिङ अन्त्यदेखि कार्यसम्पादन सम्झौतासम्म

अर्थटुडे
२०७४ भाद्र २९, बिहीबार

काठमाडौं । निजी जलविद्युत आयोजनासँग भइरहेको ‘टेक अर पे (लिउ या तिर)’ प्रावधानको विद्युत खरिद सम्झौता (पिपिए) बन्द भएको छैन । विद्युत उत्पादन बढाउँदै वितरण विस्तार गर्ने योजना रहेकाले यस्तो पिपिए बन्द नहुने भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विहिबार पत्रकार सम्मेलन गर्दै ‘टेक अर पे पिपिए केही समय स्थगितमात्र गरिएको बताए ।

प्राधिकरणले यसअघि नदी प्रवाही आयोजनाको पिपिएको सीमा पुगेकाले बन्द गरेको अनौपचारिक घोषणा गरेको थियो । यसपछि पिपिएको लाइनमा रहेका दर्जनौं आयोजनाका प्रवद्र्धधक निराश भएका थिए । प्राधिकरणका अनुसार अहिले करिब ६ हजार मेगावाटका नदी प्रवाही (आरओआर) आयोजनाले पिपिए गर्न आवेदन दिएका छन् । तत्काल यी सबै आयोजनाको पिपिए गर्न सम्भव नरहेको उनले बताए ।

उनले आफ्नो कार्यकालमा लोडसेडिङ मुक्त गरिएको, नोक्सानीमा रहेको प्राधिकरणलाई २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बताएका छन् । आर्थिक वर्ष ०७२\७३ मा प्राधिकरण ३ अर्ब ६ करोड ३९ लाख संचालन नोक्सानीमा रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७२\७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष ०७३÷७४ मा ९७ करोड ८९ लाखमा सीमित भएको घिसिङले जानकारी दिएका छन् ।

घिसिङले आफ्नो कार्यकालको एक बर्षमा गरेका मुख्य कार्यहरु

प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत महशुल वक्यौता असुली लगायतका कार्यलाई मूख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको । विगत १३ वर्षदेखि हुन नसकेको आधिकारिक ट्रेड युनियनको चुनाव गरिएको ।

प्राधिकरणले निर्माण गर्ने आयोजनाका कामलाई तिब्रता दिन र त्यस्ता आयोजनामा नेपाली जनताको लगानी सुनिश्चित गर्न कम्पनी मोडलमा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय भएको । जसका लागि माथिल्लो अरुण दुधकोसी, तमोर, उत्तरगंगा, आँधीखोला, राहुघाट, मोदी र तामाकोसी पाँचौ जलविद्युत आयोजनाहरु निर्माणका लागि कम्पनीहरु स्थापना गरिएको ।

जलविद्युत आयोजनामा परामर्श सेवा उपलब्ध गराउनका लागि प्राधिकरणको ५१ प्रतिशत, विद्युत उत्पादन कम्पनी तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको १७\१७ प्रतिशत र जलविद्युत लगानी तथा विकास कम्पनीको १५ प्रतिशत सेयर लगानी रहने गरी ‘एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड’ स्थापना गरी क्रियाशील बनाइएको । ट्रान्सफर्मर र विद्युत पोल तथा टावर बनाउनका लागि छुट्टा–छुट्टै कम्पनी खोलिएको । विद्युत व्यापारका लागि छुट्टै विद्युत व्यापार कम्पनीको स्थापना भएको ।

त्यस्तैगरी प्राधिकरणमा एक बर्षभित्रमा दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको सुरुङ स्क्विजिङको समस्या समाधान गरी आगामी दुई महिनाभित्र विद्युत उत्पादनको सुनिश्चितता गरिएको । २०७१ वैशाखको विनाशकारी भूकम्पछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिसुली ३ ए जलविद्युत आयोजनाको काम सुरु भएको, आयोजनाको निर्माण २० महिनाभित्रमा सम्पन्न हुने । यसैगरी १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण ६ महिनाभित्र सम्पन्न भई सञ्चालनमा आउने गरी काम गरिएको घिसिङले जानकारी दिए ।

त्यस्तै उनले ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणका लागि ठेकेदार छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको । प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको, दुवै आयोजना निर्माणका लागि ठेकेदार छनौट अन्तिम चरणमा रहेको ।

स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सुचारु गर्न विशेष पहल गरिएको, माथिल्लो तामाकोसी जलविद्युत आयोजना अन्तर्गतको रोल्वालिङ डाइभर्सनबाट २५ मेगावाटको जलविद्युत आयोजना बनाउन सकिने देखिएकाले आयोजना अघि बढाउन प्रकृया अगाडि बढाइएका कामहरुको विवरण सार्वजनिक गरे ।

त्यसैगरी घिसिङले आफू कार्यकारी निर्देशक हुदा विनाशकारी भूकम्पछि बन्दअवस्थामा रहेका चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको काम सुचारु गरिएको । हिउँदको विद्युत माग र आपूर्तिको व्यवस्थापनका लागि १४४ मेगावाटको कालीगण्डकी ए, ७० मेगावाटको मध्यमस्र्याङदी, ६९ मेगावाटको मस्र्याङदी, २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रलाई पहिलो पल्ट पिकिङ गरी अधिकतम क्षमतामा सञ्चालनमा ल्याइएको जानकरी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ