काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचनाहरु स्पष्ट रुपमा नेप्सेले दिएको खाकामा प्रबाह गर्न सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकको टाइप मिस्टेक प्रकरणमा नेप्सेलाई स्पष्टीकरण सोधेको थियो । नेप्सेले सो प्रकरणपछि धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने सूचना स्पष्ट रुपमा नेप्सेले दिएको खाका अनुरुप नै प्रवाह गर्न सूचिकृत कम्पनीहरुका सिईओ र कम्पनी सचिवहरुलाई यस्तो निर्देशन दिएको हो ।
नेप्सेले शुक्रबार सुचिकृत कम्पनीहरुलाई सूचना सम्प्रेषण गर्ने नमूना समेत उपलब्ध गराउदै निर्देशन दिएको हो । कतिपय कम्पनीहरुले अस्पष्ट र अपूर्ण सूचना दिने गरेको र यसबाट सर्वसाधारण लगानीकर्तामा अन्यौल सिर्जना भएकोले सो कदम चालिएको नेप्सेको भनाइ छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणमा धितोपत्र बोर्डले भदौ २१ गते बुधबारको कारोबार रद्ध गर्न पनि नेप्सेलाई निर्देशन दिईसकेको छ । यो प्रकरणमा नेप्सेको समेत कमजोर भूमिका रहेको उल्लेख गर्दै बोर्डले ७ दिनभित्र नेप्सेलाई स्पष्टीकरण दिन आदेश दिएको थियो । बोर्डले दिएको ७ दिनको समयसीमा नसकिदै नेप्सेले सबै सूचिकृत कम्पनीका सीइओ र कम्पनी सचिवलाई यो परिपत्र जारी गरेको हो ।
प्रतिक्रिया