काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगनसहित ल्याएको बहुप्रतिक्षित सो योजना बुधबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको छ । विहीबारदेखि कार्यान्वयनमा ल्याइएको योजना अनुसार बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् ।
सावधिक अवधि पुरा भएपछि एक पटक दाबी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दाबी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए । बीमा लेख लागु भएको दुई वर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने बताए ।
कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । सावधिक र आजीवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठूलो भूमिका निर्वाह गर्ने निमित्त प्रशासक थापाले बताए ।
समयसापेक्ष प्रतिष्पर्धाको लहरमा संस्थानले आफुलाई उभ्याइसकेको भन्दै संस्थानका अध्यक्ष डा. खोमराज खरेलले संस्थानमा लामो समयदेखि बाह्य लेखापरीक्षण हुन नसक्नु, संस्थानको आन्तरिक व्यवस्थापनमा उपयुक्त समन्वय हुन नसक्नु, समय सापेक्ष जनशक्ति तथा सूचना व्यवस्थापन प्रणाली तथा प्रविधि जस्ता चुनौतिलाई चिर्दै संस्थानलाई नयाँ ढंगबाट अगाडि बढाइएको बताए । बाँकी रहेको सम्पूर्ण लेखापरीक्षण तीब्र गतिमा अगाडि बढाइएको भन्दै अब छिट्टै सम्पन्न हुने उनले बताए ।
‘बीमा व्यवसायमा विश्वसनीयता राष्ट्रिय बीमा संस्थान’ भन्ने नारालाई ग्राहकले भित्रैदेखि महसुस गर्नेगरी संस्थानको मुख्य रणनीति बजार व्यवस्थापनमा केन्द्रित गरेको उनले बताए ।
राष्ट्रिय बीमा संस्थाको वित्तीय स्थिति ज्यादै नै सुदृढ रहेको भन्दै नियमनकारी निकाय बीमा समितिले तोकेको दुई अर्ब पूँजी पु¥याउन त्यसको पूँजी योजना सञ्चालक समितिबाट पारित गरेर नेपाल सरकार अर्थ मन्त्रालयमा स्विकृतिको लागि पठाइ सकेको उनले जानकारी दिए ।
नयाँ योजना सार्वजनिक कार्यक्रममा संस्थानका कामु व्यवस्थापक होमप्रसाद गौतम, नायब महाप्रबन्धक सिए महेश रिमाल, सञ्चालक इश्वरीप्रसाद अर्याल, बजार व्यवस्थापन प्रमुख विनोद थापा, पेशागत बीमा अभिकर्ता संघ अध्यक्ष बीमा संस्थानका अध्यक्ष शम्भुप्रसाद ढुंगानालगायतले योजनाका बारेमा बोलेका थिए ।
प्रतिक्रिया