काठमाडौं । बाम एकताले पुँजी बजारमा नकारात्मक सन्देश दिएको छ । तीन राजनितिक दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने तथा पार्टी एकीकरण समेत गर्ने सम्झौता गरे पछि बुधबारको पूँजी बजारमा त्यसको नकारात्मक असर परेको छ ।
नेपालको सेयर बजार राजनीतिले गाइड गरेको छ भन्दा अत्युक्ति नहोला । पुँजीबजारमा राजनीतिक स्थायित्वको संकेत देखिएका बेलामा सकारात्मक र अस्थिर देखिएका वेला नकारात्मक असर देखिने गरेको छ ।
अर्कोतर्फ दशैं मनाएर नियमित दैनिकीमा लगानीकर्ता फर्किनसकेका कारण पनि बजार घट्नलाई मद्धत पुगेको हो ।
बुधबार सेयर बजार परिसुचक (नेप्से) १३.७० अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकम मंगलबारको तुलनामा झण्डै दोव्बरले बढेको छ । अघिल्लो दिन १४ करोड रुपैंयाको सेयर कारोबार भएकोमा बुधबार झण्डै २८ करोड रुपैंयाको सेयर किनबेच भएको छ । यसदिन १४४ कम्पनीका छ लाख ६० हजार ४३ कित्ता सेयर दुई हजार पाँच सय १९ पटक किनबेच भएका छन् ।
होटल, उत्पादन र अन्य उपसमुह उकालो लाग्दा बाँकी सबै उपसमुहमा गिरावट आएको छ । बीमा समुहमा सबैभन्दा धेरै अर्थात ३५.२३ अंकको गिरावट आएको छ ।
बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भयो । त्यसैगरी चिलिमे हाइड्रो, स्टाण्डर्ड चार्टर्ड बैंक, ओरेण्टल होटल, इन्भेष्टमेण्ट बैंक लगायत कम्पनीका सेयरको कारोबार धेरै भयो ।
दिव्यश्वरी हाइड्रो तथा सिनर्जी पावरको सेयर मूल्य छ प्रतिशतको हाराहारीमा बढेको छ । त्यस्तै गुमाउनेमा भने नेरुडे लघुवित्त र एनआइसी एसिया बैंक रहेको छ ।
प्रतिक्रिया