बेइजिङ । चीनले उत्तर कोरियामा गर्ने पेट्रोलियम पदार्थको निर्यात घटाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै निर्यात कम गर्ने यसअघि जनाएको थियो । यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ ।
सोही नाकाबन्दी स्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडापार्दै उक्त निर्णय गरेको हो । त्यसैगरी उत्तर कोरियाबाट आफूले गर्ने कपडाको आयात पनि बन्द गरिएको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघले तयार पारेको चीन र उत्तर कोरियाबीचको भन्सार तथ्याङ्कअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन ।
शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्णप्रतिबन्ध लगाउन आग्रह गरे पनि चीन र रुसको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । यसअघि उत्तर कोरियालाई चीनले सहयोग गर्दै आएको आरोप अमेरिकाको थियो । अमेरिकाले चीन उत्तर कोरियाको प्रमुख व्यापार सहयोगी रहेको र यी दुई देशबीच ठूलो मात्राको आर्थिक क्रियाकलाप हुने गरेको बताउदै आएको छ ।
पछिल्लो समयमा उत्तर कोरियाले शक्तिशाली आणविक परीक्षण गर्दै आएको छ । ती परीक्षणबाट विश्वमा हतियारको होडबाजी सुरु हुने त्रास बढ्दै गएको बताएको छ । रासस
प्रतिक्रिया