वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइरन लेडी : माया गुरुङ

अर्थटुडे
२०७४ आश्विन २४, मंगलवार

सिन्धुपाल्चोकको भोटेनाम्लाङको एक साधारण परिवारमा जन्मिइन् माया गुरुङ । जीवनमा उनलाई न कसैले माथिबाट हात दिएर तान्यो न कसैले तलबाट काध थाप्यो, बरु समाजबाट उल्टै पाइन् ‘पागल केटी’को उपमा । तर, उनी कहिल्यै विचलित भइनन् आफ्नो लक्ष्यप्रति । जसको परिणाम विश्वसामु उनको पहिचाहन बनेको छ : आइरन लेडी । अरुले जे भनेपनि आफ्नो लक्ष्य पुरा गरेरै छाड्छु भन्ने दृढ संकल्प भएकी उनले परिवार र समाज दुवैको तिरस्कारका बावजुद पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल भइन् । सर्घषपूर्ण र उत्प्रेरणामुलक जीवन यात्रा उनकै शव्दमा :-


बुबाले १४ बर्षको उमेरमा नै विवाह गरिदिन खोज्नु भएको थियो । त्यो बालविबाह नै थियो, तर विरोध गर्ने आँट कसैमा थिएन । मलाई विवाह गर्न रत्ति पनि मन थिएन । धेरै पढ्न चाहन्थे । त्यसैले विवाहको अघिल्लो दिन नै घर छोडेर भागे । प्रहरीले समातेपछि मात्र थाहा पाएँ म त झापामा पो पुगेछु ।


नौ बर्ष पुरा भएछ, विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा पाइला टेकेको पनि । जब एकान्तमा बस्छु ति दिनहरु मेरासामु झलझली आउँछन् । सगरमाथा नै चढ्छु भन्ने मेरो लक्ष्य थिएन । सिन्धुपाल्चोकको भोटेनाम्लाङमा जन्मिएकी मलाई बुबाले १४ बर्षको उमेरमा नै विवाह गरिदिन खोज्नु भएको थियो । त्यो बालविबाह नै थियो, तर विरोध गर्ने आँट कसैमा थिएन । मलाई विवाह गर्न रत्ति पनि मन थिएन । धेरै पढ्न चाहन्थे । त्यसैले विवाहको अघिल्लो दिन नै घर छोडेर भागे । प्रहरीले समातेपछि मात्र थाहा पाएँ म त झापामा पो पुगेछु । मलाई कसले के भन्ला वा मलाई केही भयो भने ? भनेर मलाई कहिले डर लागेन । सायद त्यसैको परिणाम हुन सक्छ मेरो सफलता । सानै देखि मेरो लक्ष्य डाक्टर, पाइलट वा इन्जिनियर बन्ने थिएन । तर अरुको भन्दा फरक काम फरक ढंगले गर्न चाहन्थे । सामान्य कुरा त सबैले गर्न सक्छन्, तर फरक र जटिल काम पो गर्नुपर्छ भन्ने भन्ने लाग्दथ्यो । त्यसैले होला म त ठूलै काम गर्नको लागि पो जन्मिएकी हुँ जस्तो मनमा लागिरहन्थ्यो । कुनै पनि काममा मेरो रुचि थिएन । जुन काम गर्दथे त्यो काममा सन्तुष्ट हुन म कहिल्यै सकिन । तर मलाई मानिस ठूलो हुनका लागि पढ्नुपर्छ भन्ने चाही लाग्थ्यो र धेरै शिक्षा हासिल गर्न चाहन्थे । मैले जागिर खाने उदेश्यका साथ कहिल्यै किताव समाइन बस् ठूलो हुनका लागि मात्र  पढेँ । तर विडम्बना मैले चाहेको जति कहिल्यै पढ्न पाईन ।

धनी बाबुको गरिब छोरी थिए म । घरको पहिलो सन्तानको रुपमा म जन्मिएपनि हामी जेठी श्रीमतिका सन्तान भएकोले होला हामीलाई बुबाले कहिल्यै राम्रोसँग पालनपोषण र शिक्षादिक्षा दिनुभएन । हामी सिन्धुपाल्चोकमा नै बस्दथ्यौ । विबाह गर्नका लागि ठिक्क पार्दा भागेपछि त झन् बुबाले मेरो मुख पनि हेर्न चाहनु भएन । उहाँ सधै छोरीले आफूले भनेको मानोस् र विवाह गरोस् भन्ने चाहनु हुन्थ्यो तर म विवाह गर्न चाहन्नथे । मेरो आमाले भने सधै आँखा चिम्लिएर मलाई विश्वास गर्नुहुन्थ्यो । कहिलेकाही म आमासँग झुट्टो कुरा पनि बोल्ने गर्दथे । फेरी पनि आमा मेरो कुरा सही होला भनेर पत्याउनुहुन्थ्यो । सगरमाथा चढ्नको लागि तयारी गरिरहदा पनि मैले आमालाई भने झुट्टो कुरा बोलिरहे । यदी साँचो बोलेको भए आमाले मलाई सगरमाथा चढ्नको लागि अनुमति दिनुहुन्नथ्यो । सगरमाथा चढ्न जानेबेलामा मैले बुबालाई फोन गरेर भनेको थिएँ । म सगरमाथा चढ्न जान लागेको भनेर । ‘उहाँले यदी मर्न मन लागेको भए बाग्मतीमा गएर हाम फाल् किन सगरमाथा चढ्नु’ भन्नुभयो ।  मैले उहाँको कुरालाई मनमा लिइन ।

सगरमाथा चढ्नको लागि हाम्रो १० जना (सुस्मिता मास्के, शैली बस्नेत, निम्डोमा शेर्पा, पूजन आचार्य, उषा बिष्ट, आशाकुमारी सिंह, नवाङफुटी शेर्पा, चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा र म) थियौ । सगरमाथा जानका लागि शारिरिक, मानसिक र आर्थिक रुपमा तयार हुन हामीलाई करिब १० महिना लाग्यो  । त्यतिबेला हामीलाई धेरैले डर देखाइदिन्थे । पहिलो कुरा त ग्रुप नै ठूलो थियो अर्को महिला त्यसमाथि पनि अहिलेसम्म हिमालको आसपास पनि नगएकाहरुको समूह । अर्कोतर्फ छोरीले हिमाल चढ्न सक्तैनन् भन्ने मानसिकताले ग्रसित समाज थियो । जसलाई चिरेर महिलाले पनि गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्नु थियो । अर्को सबैभन्दा ठूलो समस्या भनेको हामिलाई आर्थिक समस्या थियो । हामीसँग सगरमाथा चढ्ने तालिम लिदा टेम्पो भाडा, र खाजा खाने रकम समेत पनि हामीसँग हुदैनथ्यो । सगरमाथा चढ्दा कुनैपनि कुरामा कम्प्रमाइज गर्न हुदैन भनिन्थ्यो, तर हामीले सुरक्षाका लागि लुगाहरु पनि राम्रोसँग लगाउन पाएका थिएनौ । अक्सिजन पनि राम्रोसँग लिन पाएका थिएनौ । क्यामराको त कुरै छोडौ । विदेशबाट आएका पर्यटकहरु सुविधासम्पन्न सामग्रीहरु बोकेर आउथे, तर हामीले त्यस्तो केही पनि प्रयोग गर्न पाएनौ । दुखै दुःखमा हामीले सगरमाथा चढ्यौ । शायद त्यही कुराले पनि होला हामी सफल भएका । सबैजना नयाँ भएकोले हामीलाई केही गाह्रो हुन्छ की भन्ने डर थियो । सोही अनुसार हामीले अभ्यास पनि गरेका थियौ ।

म विहान चार बजेदेखि सात बजेसम्म दौडन्थे । दौडदा छातिफुट्ला जस्तो हुन्थ्यो । विहानै दौडदा कुकुरको हुलले लखेट्थ्यो । म सगरमाथा जाने टे«निङ लिइरहेको छु भन्ने कुरा घरका कसैलाई पनि थाहा थिएन । हामी दिनभर  आर्थिक सहयोगको लागि संघसंस्था, व्यापारी र नेताहरुको घरदैलोमा धाउने काम गर्दथ्यौ । हामीलाई सगरमाथा आरोहणका लागि चाहिने एक करोड ७ लाख थियो । तर पछि एक करोड ३५ लाख रकम उठ्यो । यसबाट रकम अभावमा कुनैपनि कुरा रोकिदैन आँट सबैभन्दा ठूलो कुरा हो भन्ने राम्रोसँग बुझ्ने मौका पाएँ । मलाई सधै लाग्थ्यो मानिस रुनका लागि जन्मिएको हुदैन, केही गर्न जन्मिएको हुन्छ त्यसैले आफ्नोतर्फबाट केही गर्नुपर्छ भन्ने सोच ममा पहिलेदखि नै थियो । त्यसैले म आफूले आफूलाई सधै उत्प्रेरित गरिरहन्थे ।

सगरमाथा चढ्नका लागि हाम्रो टोली काठमाडौँबाट लुक्ला विमानस्थलमा ओर्लियौं । त्यहाँ पुगेपछि चिसो महसुस भयो । चिसो हावाले छुदा मनमा मिठो तरंग उत्पन्न भयो । माथि सेतो हिमाल, तल सेतो सफा नदी, वरीपरि हरियाली म कुनै स्वर्गमा आएको पो हुँ की भन्ने भान भएको थियो मलाई । सुरु–सूरुमा मलाई असहज महसुस भएको थियो । तर पछि ठिक भयो । हामी नाम्चे हुदै पाङबोचे भन्ने स्थानमा पुग्यौ । त्यो चाही विश्व कै सवैभन्दा अग्लो विहार (मोनाष्ट्री) हो । त्यहाँ गएर हामीले आशिर्वाद लियौ । त्यसबाट तल झरेपछि तेङबोचे भन्ने एउटा सुन्दर उपत्यका छ, जसलाई राईहरुको स्वर्ग समेत भनिन्छ । जहाँ आनीहरु बस्छन् । त्यहाँ एकजना आनी बस्छिन्, जसले घामै नहेरी बसेको २५ बर्ष भन्दा बढी भएको कथन छ । ति आनीले दुधभन्दा अरुकेही पनि नखाने त्यहाँका बासिन्दाहरुले जानकारी दिए । हामीले प्वालबाट हाम्रो हात छिराएर उनलाई दियौ । उनले हाम्रो हात छोएर हामीलाई आशिर्वाद दिइन् ।

दोस्रो दिन मलाई अत्यधिक कठिन भयो । मुटु फुट्ला जस्तो भयो । तर, म मा सगरमाथा चढ्ने इच्छाले ति सबै कठिनलाई धकेल्दै लगेको थियो । जति जति माथि गयो उति उति मेरो लोभ, मोह, क्रोधहरु सकिदै गए र म साधारण मानिस मात्र हुँ, भन्ने भाव पैदा हुदै गयो । अर्को छुट्टै संसारमा आएको महसुस भयो । पाङबोचे भन्ने स्थानमा गएपछि एकजना लामा रहेछन् । उसले हामी सबैलाई हिमालको उत्पत्ति बारेमा जानकारी दिए । ति लामाले मानिसको हात हेरेर भविष्य समेत भन्ने गरेका रहेछन् । उनले हामी सबैको हात हेरे, सबैलाई सगरमाथा चढ्न सक्छौ भने । अन्तिममा, मेरो हात हेर्ने पालो आयो । उनले मेरो टाउकोमा हातले हाने र हातभरी थुकिदिए । र भने, ‘तिमी नजाउ, फर्क तिमी हिमाल चढ्न त सक्छौ तर, जेपनि हुन सक्छ, तिमी फर्क यो भन्दा पनि ठूलो काम तिमीले गर्नुपर्छ’ । त्यतिवेला मलाई एकदमै रिस उठ्यो तर मैले केही भनिन । ग्रुपमा जाने साथीहरुले त फर्क पनि भनेका थिए । तर, मैले ठूलो संघर्ष गरेर हिमाल चढ्नका लागि गएको कसरी फर्कनु ? भने । साथिहरुलाई मैले ‘पहिले नै ज्यानको बाजी लगाएर हिमाल चढ्न आएको र हिमाल चढ्दा मरिएछ भने म मृत्युलाई पनि स्वीकार्न तयार छु’ समेत भने । मलाई कठिन भएका बेलामा जप्ने मन्त्र हाम्रो टोलीका नेताले दिएका थिए । मलाई कठिन हुदा म त्यही मन्त्र जप्थे र सहज हुन्थ्यो अनि अघि लाग्दथे ।

सगरमाथाको चुचुरोमा पुग्ने बाटो निक्कै कठिन थियो, ठूला ठूला हिउ पहिरो समेत खस्दथ्यो । तल सेतो नदी थियो, ठूला ठूला भड्खालोहरुमा पुलको व्यवस्था थियो, पुलहरु निक्कै हल्लिने, यदी खुट्टा चिप्लिएर खस्यो भने लाश पनि भेट्न सकिदैनथ्यो । सगरमाथा चढ्दा क्याम्प २ देखि क्याम्प ३ सम्म सिधा ठाडो भिर बस्ने ठाउँ कतैपनि छैन । त्यसैले एकैदिनमा क्याम्प २ बाट क्याम्प ३ जानुपर्दछ । त्यस्तै क्याम्प ४ मा गएपछि भने पिसाप, दिसा गर्र्ने स्थानपनि छैन । जहाँ आयो त्यही छेको पारेर गर्ने हो ।क्याम्प ४ बाट सगरमाथाको चुचुरोसम्म पुग्दाको रमाइलो यात्रा छ । सगरमाथाको चुचुरोकोमा पुग्नेबेलामा अक्सिजन सकियो । म अक्सिजन सकिएर आलश्य भएको थिएँ । पछाडी एक जना भरिया आउँदै रहेछन् । साथिहरु कहाँ हो कहाँ थिए मलाई पत्तो नै भएन । मेरो हात खुट्टा चल्न सकिरहेको थिएन । ति भरियाले मेरो नाजुक अवस्था देखेर होला आफूसँग भएको अक्सिजनको सिलिन्डर फेरिदिए । तर त्यो सिलिन्डरमा पनि थोरै मात्र अक्सिजन रहेछ ।  म विस्तारै उक्लिदै थिएँ । पछाडी पुजन र शैली पनि आउँदै रहेछन् । जुनको टहटह उज्यालो थियो । सगरमाथाको चुचुरोमा जान नसकेर बोटोमा नै मृत्युवरण गरेका कयौ लाशहरु यत्रतत्र देखिन्थे । मलाई लाग्छ मानिसहरु सबैभन्दा सहज तवरले भने हिमाल चढ्दा नै मर्छन् उनीहरुलाई कही कतै दुख्दैन । शारिरिक पिडा रत्ति पनि हुदैन । उनीहरुलाई कहि कतै दुख्दैन बसीरहेका हुन्छन् तर मरिसक्छन् । आफूलाई कठिन भयो भनेर त्यहाँ थकाई मानका लागि बस्नु हुदैन । बस्दा बस्दै स्वाश फेर्न विर्सिएको पत्तो नै हुदैन । क्याम्प ४ बाट चुचुरो तर्फको यात्रा गर्ने क्रममा मैले धेरै त्यस्ता लाशहरु देखेँ, जुन लाशले बोलुला झै गरी मलाई नै हेरिरहेको भान हुन्थ्यो ।

हिमालमा मरेका लाशहरुको नङ र कपाल भने बढ्दो रहेछ । ति लाशहरुका नङ र कपालहरु लामा–लामा थिए । मलाई यस्तो लाग्थ्यो आफूसँग नेल कटर भए उनीहरुका नङ काटिदिन हुन्थ्यो । कैची भए कपाल काटिदिन हुन्थ्यो । मनमनमा उनीहरुप्रति दया जागेर आउथ्यो तर के गर्नु ति सबै लाश मात्र थिए । नसडेका नगलेका राम्र शरिर भएका फगत लाश । सबैले मरेको मानिसले तर्साउछ भन्थे, तर मलाई त्यस्तो कहिल्यै लागेन । एक पटक चाहीँ बाटोमा हिड्दै थिए, शैलीको आवाजमा कसैले माया, भनेर बोलायो । मैले हजुर भनेर पछाडी फर्किएको शैली त आएकै रहेन छ । मैले त्यस्तो कुरालाई बेवास्ता गर्दै अघि बढेँ । मलाई निक्कै आनन्द आइरहेको थियो । यदी त्यहाँ मृत्यू नै भएको भए पनि मलाई कुनै पश्चाताप लाग्ने थिएन ।


सगरमाथा चढ्न जानेबेलामा मैले बुबालाई फोन गरेर भनेको थिएँ । म सगरमाथा चढ्न जान लागेको भनेर । ‘उहाँले यदी मर्न मन लागेको भए बाग्मतीमा गएर हाम फाल् किन सगरमाथा चढ्नु’ भन्नुभयो ।


जेठ ९ २०६५अर्थात् (मे २२,२००८) मा हामीले सगरमाथाको चुचुरोमा पाइला टेक्यौ । सगरमाथाको चुचुरोमा पुगेपछि मलाई मेरी आमाको खुब याद आयो । म खुसीले निक्कै चिच्याए । सबैभन्दा अग्लो स्थानमा आएकोले मेरो मन हर्षले गद्गद् भएको थियो । साथीहरु पनि रमाइरहेका थिए । चुचुरोबाट हेर्दा चन्द्रमा पनि तल जस्तो देखिन्थ्यो । हुन त हामीलाई स्वर्गबारे केही थाहाँ छैन तर सायद स्वर्ग भनेको त्यही होला । जहाँ अत्यधिक आनन्द महसुस हुन्छ । चुचुरोमा हामी करिव १५ मिनेट जति बस्यौ । जब मेरा पाइलाहरु सगरमाथाको चुचुरोतर्फ बढ्थ्यो मेरो मन एक किसिमले हर्षित हुन्थ्यो । ‘जसो गर जे गर जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो ’ भन्ने गीत चिच्याएर गाएँ । चुचुरोमा पुगेपछि हामीले एकैस्वरमा त्यो गीत गायौ । मैले त्यहाँबाट ‘आमा’ भनेर कराए । एक किसिमको सन्तोष प्राप्त भयो । मैले त्यतिबेला आमालाई खुव सम्झे जसले मलाई आँखा चिम्लेर विश्वास गर्नुभयो । उहाँकै कारण म यहाँसम्म आइपुगे । यहाँसम्म आइपुग्न पनि उहाँको ठूलो त्याग रहेको छ भन्ने सोचे मेरो आँखा रसाए । आमा नजिकै भएको भए अंगालो हालेर खूव रुन्थे जस्तो लाग्यो ।

हामीलाई गाइडले सगरमाथाको चुचुरोमा धेरैबेर बस्न दिएन । चिसो र हावा हुरीका कारण हाम्रो ज्यान पनि जान सक्थ्यो । त्यसैले हामी तल झर्यौ । क्याप ४ मा आइपुग्दा मेरा हातखुट्ट हिउले खाएको महसुस भयो । टेन्ट भित्र मेरो खुट्टा छिरेनन् । एकछिन साथी शैलीले आएर मेरो खुट्टा उचालेर टेन्ट भित्र नहालिदिएको मैले खुट्टा गुमाउनु पर्दथ्यो । साथिहरुले तातोपानी खान दिई , हातखुट्टा रगडिदिएपछि बल्ल मैले जीवन पाएँ । क्याम्प ४ मा निक्कै फोहोर छ । चार देखि चुचुरोसम्म पुग्दा मानिसहरुले आफुसँग लगिएका सबै सामाग्रीहरु त्यही फालेर हिड्ने गरेका छन् । कतिपयले त त्यहाँ विभिन्न देशका, संघसंस्थाका झण्डाहरु गाडेका छन् । जसले हिमाललाई फोहोर बनाएको छ । सगरमाथा दुर्गन्धित भइरहेको छ । तर सरकार त्यसतर्फ कुनै ध्यान दिदैन । यदी सगरमाथाकै अस्तित्व नरहने हो भने सगरमाथाको देश भनेर हामीले गर्व गर्ने कसरी ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ