काठमाडौं । उद्योग मन्त्री सुनिलबहादुर थापाले सरकारको काम उद्योग सञ्चालन गर्ने नभएर उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउने भएको बताए । उनले सरकारले उद्योग सञ्चालनका लागि सहज हुनेगरी नीति नियम तथा कानुन बनाएर अघि बढ्नु नै मूख्य काम रहेको बताए ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल अमेरिका व्यापार विस्तारसम्बन्धी एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले सरकारले मार्ग निर्देश मात्र गर्ने र ‘उद्योग चलाउने काम भने निजी क्षेत्रकै भएको दाबी गरे ।
मन्त्री थापाले उद्योगी व्यापारीहरुले देशको राजनीतिलाई दोष देखाएर पन्छिन नहुने भन्दै जहाँ चुनौति हुन्छ त्यहाँ धेरै अवसर पनि हुने भएकोले चुनौतिको सामना गर्न नीजी क्षेत्रलाई आग्रह गरे । उनले अन्य देशमा पनि अस्थिर राजनीति रहेको छ तर त्यहाँको नीजी क्षेत्रलाई कुनै पनि असर परेको देखिदैन भन्दै उद्योगीहरुलाई अनावश्यक आरोप नलगाउन सुझाव दिए ।
उनले उद्योगधन्दाको विस्तारका लागि अन्तरमन्त्रालय समन्वयमा भने समस्या भएको गुनासो गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेपट्जिले नेपालले आर्थिक अवसरहरु सृजना गर्नुपर्ने बताइन् ।
उनले नेपाल २०३० सम्ममा विकाशिल राष्ट्रका रुपमा परिवर्तन हुन धेरै आर्थिक अवसर सृजना गर्नुपर्ने समेत बताइन् ।
उनले विकाशिल राष्ट्र बन्नका लागि सरकारले लगानी तथा आर्थिक बृद्धिको वातावरण तयार गर्नुपर्ने जानकारी दिइन् । यसैगरी उनले अमेरिकाले विभिन्न बस्तुमा दिएको डिउटी फ्रिको सेवा उपभोग गरी धेरै फाइदा लिनुपर्ने बताइन् । ‘अमेरिकी बजारमा आएर बिक्री गर्नुहोस भनेर नेपाललाई अवसर दिएका छांै, धेरै सोचेर मात्र त्यो अवसर दिएका हौ,’ उनले भनिन् ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले नेपालले अमेरिकाले दिएको व्यापार सुविधाको पूर्णरुपमा उपयोग गर्न नीजीक्षेत्रले अग्रसरता देखाउनु पर्ने बताए । उनले अमेरिकासँग नेपालले धेरै पापड मोलेर नै ७७ वटा उत्पादनमा विभिन्न सुविधाहरु उपलव्ध गराएको भन्दै नेपाल सरकार र अमेरिकी सरकार पनि नीजी क्षेत्रको साथमा रहेको र उनीहरुलाई प्रोत्साहन गर्न सधै तत्पर रहने जानकारी दिए । उनले नेपाली लगानीकर्ताहरुलाई सानो लगानीमा धेरै उत्पादन गर्न सकिने वस्तुलाई केन्द्रित गर्न समेत सुझाव दिए ।
सो अवसरमा पेभिलियन समुहका अध्यक्ष नरेश श्रेष्ठले कार्यशालामा ७७ उत्पादनमा के कस्ता सुविधा उपलब्ध गराइएको छ भन्ने बारे छलफल गरिने बताए ।
प्रतिक्रिया