काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले शरदकुमार गौचनका हत्यारालाई कानुनी दायरामा नल्याएसम्म आफुहरुको आन्दोलन नरोकिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यवहाक अध्यक्ष श्रेष्ठले गौचनलाई सरकारले तत्काल शहिद घोषणा गर्नुपर्ने र उनका हत्यारालाई कानूनी कठघरामा नउभ्याएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
काठमाडौमा आयोजना भएको एक कार्यक्रममा उनले भने,‘सरकारले जुन तरिकारले हत्याराहरुको खोजि गर्छ, हामी त्यही अनुसारको आन्दोलनका स्वरुपहरु परिवर्तन गर्छौँ, सिँगो निर्माण व्यवसायीहरुका संरक्षक तथा अविभावकको हत्यामा संलग्नहरुलाई तत्काल कारबाही गर्नुपर्छ, सरकारले जुन तरिकाले मादल बजाउँछ हामी त्यही अनुसारको नाँच प्रर्दशन गर्नेछौँ ।’
कार्यवहाक अध्यक्ष श्रेष्ठले अघि थपे,‘सरकारले आफ्नो कोणबाट काम गरिरहेको छ, हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ, यत्ति हँुदैमा हामी चुप लागेर बस्दैनौं, हाम्रो आन्दोलन गौचन हत्यारालाई कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने हो, आगामी दिनहरुमा निर्माण व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।’
गौचन हत्याको घट्नालाई जोडदार रुपमा उठाएर सञ्चारकर्मीले खेलेको भूमिकाको प्रसँशा गर्दै श्रेष्ठले आगामी दिनमा पनि यसैगरि साथ दिनको लागि आग्रह गरे ।
साक्षात्कारमा महासंघका पूर्व अध्यक्ष एवम् संघर्ष समितिका संयोजक शकुन्तला हिराचनले पनि सरकारको काम कारबाहीको आधारमा आन्दोलन अघि बढ्ने स्पष्ट पारे । हिराचनले भने,‘आन्दोलनले प्रतिशोधको आधारमा नभएर सतहीमा पुगेर आगामी दिनमा यस्ता घट्ना नदोहोरिनको लागि सचेत भएर आन्दोलन गर्नुपर्छ, सरकारले यहाँनिर ठुलो भूमिका खेलेको छ, सञ्चारकर्मी खासगरी छापा माध्यम, टेलिभिजन सबैले हार्दिकताका साथ सहयोग गर्नुभएको छ, त्यसैले सबै सञ्चारकर्मीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’
त्यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष जयाराम लामिछानेले गौचन हत्यारालाई चाँडो भन्दा चाँडो कठघरामा उभ्याएर हदैसम्मको कारबाहि गर्न सरकासँग माग गरे । उनले भने,‘आज नेपाल निर्माणको मुख्य भूमिकामा रहेका व्यक्तिको हत्या भएको छ, विकाशप्रेमी नेताको हत्या भएको छ, निजी क्षेत्रको हत्या भएको तेस्रो आज दिन हो, यसलाई हामीले सिङ्गो अर्थतन्त्रको हत्या भएको तेस्रो दिनको रुपमा लिएका छौं, हामीले प्रहरी र सरकारसँग ठुलो आशा गरेका छौँ, दोषीलाई तत्काल कारबाही होस् ।’
त्यस्तै कार्यक्रममा महासंघका महासचिव रामशरण देउजाले संसद भवन नजिकै प्रतिष्ठित व्यक्तिको हत्या हुनु सामान्य रुपमा नलिन भन्दै सरकारको ध्यानाकार्षण गराए । निर्माण क्षेत्रकै कुशल अविभावक गुमाएको बताउँदै महासचिव देउजाले भने,‘हामीले अविभावक गुमाएका छौँ, हामी दुःखी छौँ, सरकारसमक्ष गहन भएर यस घटनामा संलग्न दोषि सबैलाई कारवाही गर्नको लागि आग्रह गर्दछु।’
प्रतिक्रिया