काठमाडौं । ठमेल क्षेत्रलाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । नेपालको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको सो क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन प्रबेशमा रोक लगाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गर्न लागेको जानकारी दिए । उनका अनुसार अत्यावश्यक सवारी साधन भन्नाले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षा संयन्त्रका सवारी साधनहरु रहेका छन् ।
खनालले सवारी साधनको कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने दावी गरे ।
ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने भएको छ ।
यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले ठमेललाई व्यवस्थित शहरका रूपमा विकास गर्न महानगरपालिकाले महाशाखासँग मिलेर उक्त अभियान चलाउन लागेको बताए ।
ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् ।
प्रतिक्रिया