काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचिकृत कम्पनीमध्ये नविकरण शुल्क नबुझाउने १५ कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले असोज मसान्तसम्ममा नविकरण शुल्क बुझाउन निर्देशन दिएपनि शुल्क नबुझाउने कम्पनीको कारोबार रोक्का गरेको हो ।
कारोबार रोक्का हुने कम्पनीहरुमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कणार्ली डेभलपमेन्ट बैंक, महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था, नागबेली माईक्रोफाइनान्स, ललितपुर फाईनान्स, नेशनल माईक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाईनान्स, समता माईक्रोफाईनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिब्येश्वरी हाईड्रो पावर कम्पनी, र युनिलिभर नेपाल रहेको नेप्सेले जनाएको छ ।
कारोबार बन्द गरेपछि कम्पनीहरु धमाधम शुल्क बुझाएर कारोबार सुरु गराउन थालेका छन् ।
नेप्सेमा सूचिकरणवापत एक करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीले बार्षिक १५ हजार, एक करोडदेखि ५ करोडसम्म पुँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
नेप्सेमा १९६ वटा कम्पनी कारोबारका लागि सूचिकृत छन् ।
प्रतिक्रिया