वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अष्ट्रियन लगानीकर्तालाई आग्रह

अर्थटुडे
२०७४ कार्तिक १५, बुधबार

काठमाडौं । सहरी विकास मन्त्री दिलनाथ गिरीले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अष्ट्रियन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । नेपालमा जलविद्युत् विकासकर्ताहरुलाई उपकरण आपूर्ति गरिरहेको अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले आयोजना गरेको ‘ग्राहक भेटघाट कार्यक्रम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जलविद्युतमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न सरकारले लचिलो नीति लिएको पनि जानकारी दिए ।

नेपालका लागि अष्ट्रियाकी राजदूत ब्रिगिट ओपिनिगर वाल्सफोरले जलविद्युत् स्वच्छ, नवीकरणीय उर्जाको स्रोत हुनुका साथै आम्दानीको ठूलो स्रोत भएकाले नेपालले जलविद्युत् विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नवीकरणीय तथा स्वच्छ उर्जाले वातावरणीय प्रदूषण न्यूनीकरण गर्नुका साथै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन मद्दत गर्ने उनको भनाई थियो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको कुल जलविद्युत् उत्पादन क्षमताको दश प्रतिशतभन्दा कममात्र दोहन भएको भन्दै एन्ड्रिजका लागि नेपाल ठूलो बजार रहेको उल्लेख गरे ।

एन्ड्रिजले नेपालमा विगत दुई दशकदेखि उपकरण आपूर्ति गर्दै आएको छ । नेपालको सबैभन्दा उच्च क्षमताको जलविद्युत् आयोजना माथिल्लो तामाकोसी, चिलिमे, मध्य भोटेकोसी एन्ड्रिज हाइड्रोका उपकरण प्रयोग भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कमर्सियल कन्सुलर ओस्कर एण्ड्सनरले एन्ड्रिजले नेपालमा बीसौं वर्षदेखि काम गर्दै आएको र अन्य अष्ट्रियन कम्पनीहरु पनि नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताए । नेपालमा अस्ट्रियन लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक ‘नेपाल—अस्ट्रिया इकोनोमिक फोरम’को आयोजना गरिएको उल्लेख गर्दै अन्य कम्पनीहरु पनि एन्ड्रिजजस्तै च्याम्पियन हुने आशा व्यक्त गरे ।

कार्यक्रममा पाँच सयभन्दा बढी प्रबद्र्धक, विज्ञ, तथा जलविद्युत् प्रवद्र्धनमा चासो राख्ने व्यक्तिहरुको सहभागिता रहेको छ । एन्ड्रिजको ग्राहक भेटघाट कार्यक्रम बिहीबारसम्म चल्नेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ