काठमाडौं । पाँच वटा बाणिज्य बैंकले एकैदिन त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा सोमबार वित्तिय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकमध्ये तीन वटाको नाफा घटेको छ भने दुई बाणिज्य बैंकको नाफा बढेको छ ।
सोमबार लक्ष्मी सिभिल, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक र कुमारी बैंकले वित्तिय विवरण सार्वजनिक गरेकोमा लक्ष्मी बैंक र सिभिल बैंकको नाफा बढेको छ भने कृषि विकास बैंक, नेपाल बंगालदेश बैंक र कुमारी बैंकको नाफा घटेको छ ।
लक्ष्मी बैंकले पहिलो तीन महिनामा १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत बर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी पनि यस अवधिमा बढेर ४८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.७८ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी ८ रुपैयाँ छ । बैंकले पहिलो तीन महिनामा ५८ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब २१ करोड रुपैयाँ छ ।
सिभिल बैंकले पहिलो तीन महिनामा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत बर्षको तुनालामा करिब ७ गुणा बढी हो । अघिल्लो बर्ष बैंकले यस अबधिमा एक करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २८ करोड ६२ लाख रुपैयाँ छ भने गत वर्ष २२ करोड ९७ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ७५ करोड रुपैयाँ जम्म भएको छ । बैंकको पूँजी कोष अनुपात १९.६२ प्रतिशत रहेको छ भने खराब कर्जा ४.६९ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी ८ रुपैयाँ छ । बैंकले ३४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीस अर्ब ९५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
कृषि विकास बैंकले पनि चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिमा बैंकले ४२ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ। जगेडा कोषमा १० अर्ब २३ करोड रुपैयाँ जम्म भएको छ । बैंकले पहिलो तीन महिनामा ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब २० करोड ऋण लगानी गरेको छ ।
बैंकको पूँजी कोष अनुपात १७.९९ प्रतिशत रहेको छ भने खराब कर्जा ३.५४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ रहेको छ।
नेपाल बङ्गलादेश बैंकको पहिलो तीन महिनामा नाफा ३१ प्रतिशतले घटेको छ । गत बर्षको पहिलो तीन महिनामा बैंकले २२ करोड ५० लाख रुपैयाँ थियो तर यस बर्षको पहिलो तीन महिनामा बैंकले १५ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २० करोड २४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँमा सिमित भएको छ । गत बर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकले ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ छ। जगेडा कोषमा दुई अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ ।
कुमारी बैंकले पहिलो तीन महिना ११ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यो गत बर्षको तुलनामा १८ प्रतिशतले कम हो । यस अबधिमा बैंकले ५४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ७४ करोड जम्मा भएको छ । बैंकको प्रति सेयर आम्दानी ७ रुपैयाँ छ ।
प्रतिक्रिया