काठमाडौं । देशभर वाम गठबन्धनका उम्मेदवारहरुले जितिरहदाँ सेयर बजार परिसुचक (नेप्से) भने ओरालो लागेको छ । चुनावको मत परिणामहरु आइरहदा आइतबार कारोबार सुरु भएको नेप्से ६ अंकले ओरालो लागेको छ ।
यसदिन बजार १५३०.४९ अंकमा अडिएको छ । आइतबार कारोबारमा आएका उत्पादनमूलक ४०.२४ र अन्य समूह २ अंकले उकालोे लागेपनि बाँकी सबै समूहको उपसुचक ओरालो लागेको छ ।
यसदिन बीमा समुहको परिसुचक ७२.८२ माइक्रोफाइनान्स २०.३४, होटल १४. ७८, जलविद्युत १३.७२, फाइनान्स ८.४५, बिकास बैंक ५.४७ र बैंकिङ समुहको परिसुचक ३.७९ अंकले ओरालो लागेको छ ।
आइतबार स्ट्याण्डर्ड चाटर्ड बैंकको सबैभन्दा बढी २६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकले शत प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै सो बैंकको कारोबार बढेको हो ।
दिनभर १५८ कम्पनी कारोबारमा आएका थिए ती कम्पनीको १२ लाख कित्ता सेयर बराबरको ८४ करोड रुपैयाँको कारोबार भएको छ । यसदिन बोटलर्स नेपालले सबैभन्दा बढी १० प्रतिशतले कमाएको छ भने सबैभन्दा बढी सेन्ट्रल फाइनान्सले गुमाएको छ ।
प्रतिक्रिया