काठमाडौ । व्यङ्ग्यकार महेश थापाद्वारा लिखित व्यंग्य संग्रह ‘नमोनमः’ को बिहीबार विमोचन गरिएको छ । काठमाडौंस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमकाबीच नेपाली हास्यव्यंग्यका धरोहर हरिवशं आचार्य र मदनकृष्ण श्रेष्ठ ‘महजोडी’ ले सो पुस्तक विमोचन गरेका हुन् ।
लामो समयदेखि मोटर न्यूरोन डिजिज नामक गम्भीर रोगबाट पीडित लेखक थापा शारीरिक रुपमा अशक्त छन् । आंशिक रुपमा चल्ने दाहिने हातको दुई औंलाको सहयोगले ‘अन–स्क्रीन किबोर्ड’ मार्फत् कम्प्युटर माउसद्वारा उनी लेख्ने गर्दछन् । कथा, निवन्ध र समसामयिक राजनीतिक टिप्पणी समेत लेख्ने थापा व्यंग्यकारको रुपमा परिचित छन् । सामाजिक तथा राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध थापाका व्यंगात्मक लेख लोकप्रिय मानिन्छन् ।
कार्यक्रममा हरिवंश आर्चायले पछिल्लो समय नेपालमा हास्यव्यंग्यको नाममा गालीगलौज गर्नेको संख्या बढेको बताएका छन् । व्यंग्य शालीन र मृदु हुनुपर्ने भन्दै आचार्यले व्यंग्य गरिएको पात्रले पनि व्यंग्य पढेपछि ‘ए हो त नि’ भन्ने भावका साथ आनन्द लिनसक्ने हुनु आवश्यक रहेको बताए । विमोचन कार्यक्रममा बोल्दै आर्चायले सर्वाधिक रुचाइने विधा व्यंग्य भएता पनि जति हाँस्न सकिन्छ, हसाउन त्यति नै गाह्रो हुने बताए । आचार्यले लेखक थापा शरीरले हारे पनि दिमागले जितेका अब्बल लेखक भएको बताए ।
त्यस्तै, कार्यक्रममा मदनकृष्ण श्रेष्ठले नेपालमा अझै केही वर्षसम्म राजनितिक हास्यव्यंग्य गर्नु आवश्यक रहेको बताए । श्रेष्ठले नेपालमा स्थायी राजनीति जबसम्म हुन्न, तबसम्म हास्यव्यंग्य गरेर सबैलाई सजग बनाउन आवश्यक रहेको बताए । साथै, आफूले पहिलोपटक लेखक थापालाई भेट्दा यस्तो शारीरिक अवस्थामा पनि यिनले कसरी लेख्न सक्छन् होला भनी सोचेको श्रेष्ठले बताए ।
राजनीतिक विश्लेषक मुमाराम खनालले थापाको लेखनी र पुस्तकमाथि प्रकाश पार्दै बोलेका थिए । हास्यव्यंग्यले जनचेतना जगाएर देशमा लोकतन्त्र ल्याउन सशक्त भूमिका खेलेको भन्दै खनालले राजनीतिमा नलागेको भए आफू व्यंग्यकार भएको हुने बताए । व्यंग्यसंग्रह ‘नमोनमः’लाई मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया